खगराजको आरोह अवरोहको ५० वर्षे राजनीतिक यात्राः स्ववियु सभापतिदेखि मुख्यमन्त्रीसम्म

 पोखरा, २५ पुस । नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गर्नुभएको छ । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे सहित (३३ जना)को समर्थनमा अधिकारीले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्नुभएको थियो । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारीलाई प्रदेश प्रमुख गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहनु भएका अधिकारी कास्की–१ (१) बाट निर्वाचित हुनुहुन्छ । उहाँलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

अधिकारीको जिवनी

२०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल कास्की जिल्लाको बेगनास पुग्नुभएको थियो । पुष्पलालले टेकेको त्यहि माटोमा २०१८ साल चैत १३ गते जन्मिनु भएका खगराज अधिकारी अहिले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । खगराज जन्मिनु भन्दा अघिदेखि नै त्यहाँको माटोमा कम्युनिष्टको छाप थियो । हो, त्यहि परिवेशमा जन्मिनु भएका अधिकारीलाई त्यहाँको माटोले सानैदेखि अन्यायविरुद्ध लड्ने शक्ति दियो अर्थात कम्युनिष्ट माटोमा जन्मिनु भएका अधिकारी कम्युनिष्ट नै बन्नुभयो र अन्यायका विरुद्ध सानैदेखि लड्दै आउनुभयो ।

बाबु शेषरमण उपाध्याय र आमा लिलादेवीको कोखबाट जन्मिनु भएका अधिकारीको विद्यालय जीवन केही ढिलो सुरु भयो तर विद्यालयमा शिक्षकहरुकै गल्तीविरुद्ध बोल्ने आँट, साहस, आत्मविश्वास र हिम्मत उहाँले त्यसैबेला राख्नुहुन्थ्यो ।

उहाँ कम्युनिष्ट बन्नुको एउटा रमाइलो घटना नै छ । एक रात उहाँको घर छेउमा बाघ आएको थिया । उहाँका पिता शेषरमणले थाहा पाउनुभयो र एक्लै बाघलाई लखेट्नुभयो । त्यो दृष्य उहाँको मानसपटलमा घुमिरहयो । अधिकारीको जीवनमा यसले नयाँ शिक्षा दियो–बाघजस्तो शक्तिशाली प्राणीलाई पनि मान्छेले लखेट्न सक्दो रहेछ अर्थात् मान्छेले चाह्यो भने असम्भव केही छैन । उहाँमा राजनीतिक चेत बढाउनमा बाघसँग लडेको त्यो कथा पनि स्मरणीय छ ।

राजनीतिक यात्रा

११ वर्षको उमेरमै आनन्दज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएको अधिकारी स्कुले जीवनमा नै राजनीतिक संगठनमा पोख्त भइसक्नु भएको थियो । २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर संगठानिक रुपमा आफूलाई अगाडि बढाउनु भएका अधिकारीको राजनीतिक यात्रा त्यसपछि भने अविराम अघि बढ्यो ।

२०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को कास्की जिल्ला अध्यक्षको जिम्मेवारीमा रहनु भएका अधिकारी उच्च अध्ययनका लागि काठमाडौं आउनुभयो । परिवारको चाहनाविपरित उहाँ फेरि कास्की नै फर्किनुभयो । पोखराको पृथ्वी नारायण (पिएन) क्याम्पसमा विज्ञान विषय अध्ययनका लागि भर्ना हुनुभयो । त्यहाँ पनि उहाँ राजनीतिक संगठनमा संलग्न रहनुभयो । ०३७ सालमा पिएन क्याम्पसमा स्ववियू सदस्य र ०३८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

त्यसको दुई वर्षपछि उहाँले अनेरास्ववियूको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । उहाँ ०४० सालमा पहिलो पटक पीएन क्याम्पसको स्ववियु सभापतिमा विजयी हुनुभयो । दोस्रो पटक फेरि ०४१ सालमा स्ववियु सभापति बन्नुभएका अधिकारी पञ्चायतको दबदबा रहेका बेला बहुदलको पक्षमा लाग्नुभयो । त्यहि कारण उहाँ तत्कालीन प्रशासनको तारो बन्नुभयो । ०३६ सालदेखि अर्धभूमिगत रहेर पार्टी र संगठनका लागि काम गर्नुभएको अधिकारीलाई ०४२ सालमा स्ववियू सभापति हुँदाहुँदै प्रशासनले पक्राउ ग¥यो । उहाँ ०४६ सालसम्म नेपालका बिभिन्न स्थानमा जेलजीवन बिताउन बाध्य हुनुभयो ।

कास्की, रौतहट, दमौली लगायतका जिल्लाका जेलमा पठाइएका अधिकारी ०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य बन्नुभयो । त्यतिबेला एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली युवा संघको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । ०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य हुनु भएका अधिकारी ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की–१ बाट प्रतिनिधिसभामा विजयी हुनुभयो । ०५४ सालमा सचेतकको जिम्मेवारी पाउनु भएका अधिकारीले ०५१ मा सांसद् भएपछि कास्की जिल्लाको विकासमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा अहिले पनि हुने गरेको छ ।

०६२–६३ सालमा भएको दोस्रो जनआन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी त्यतिबेला पनि जेल पर्नुभयो । देशमा गणतन्त्र स्थापनापछि अधिकारीले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।

०७० साल चैत १३ गतेदेखि ०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा अधिकारीले थप विकास तथा कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमाको अवधारणा अहिले निकै लोकप्रिय छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा अधिकारी ०६५ सालमा भएको नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नुभएको थियो । उहाँलाई पार्टीले गण्डकी इन्चार्ज, संगठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।

सरकार सन्चालन तथा पार्टीको वैचारिक तथा सांगठनिक विकासमा उल्लेख्य योगदान पु¥याउनु भएका अधिकारीलाई ०७३ सालमा नेकपा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी दियो ।

०७४ सालमा भएको आमनिर्वाचनमा कास्की १ बाट विजयी अधिकारी ०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त हुनुभयो । तर, उहाँको त्यो कार्यकाल लामो रहेन । ०७८ साल मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

अधिकारीको ०७० सालसम्मको जीवनका आरोह–अवरोह तथा राजनीतिक संघर्ष र यात्राको विषय समेटिएको सस्मरण ‘माया मारेको मान्छे’ प्रकाशित छ ।