भ्रष्टाचारविरुद्ध चुनावी अभियान चलाउने प्रेमध्वज लामाको घोषणा
भक्तपुर, ५ मङ्सिर । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न रहेको आरोप लागेका व्यक्ति तथा दलको भण्डाफोर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
लामाले भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्ने उद्देश्यले निर्वाचनअघि अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।
‘भ्रष्ट दल र तिनका उम्मेदवारलाई हराउनु नै मेरो अभियानको मुख्य उद्देश्य हो,’ लामाले भने, ‘त्यसकारण चुनावअघि उनीहरूको भ्रष्टाचार जनतासामु ल्याउने हाम्रो योजना हो।’
काभ्रेको नमोबुद्ध स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका लामाले आगामी निर्वाचनमा भक्तपुर र काभ्रेका स्थानीय तहमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले आफू आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट पार्दै भ्रष्टाचारको आरोप लागेका दल तथा उम्मेदवारको सट्टा स्वच्छ छवि भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।
स्थानीय तह जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने सरकार भएकाले त्यहाँ हुने निर्णय, गतिविधि र कामकारबाही पारदर्शी तथा जनउत्तरदायी हुनुपर्ने लामाको भनाइ छ। निर्वाचनका क्रममा भ्रष्टाचार, अनियमितता र जनहितविपरीतका गतिविधि सार्वजनिक गर्दै मतदातालाई सचेत गराउने उनको योजना छ।
भ्रष्टाचारमुक्त समाज निर्माण कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले सचेत नागरिक, सामाजिक अभियन्ता, पत्रकार तथा जिम्मेवार जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
‘समाजको हित, राष्ट्रको समृद्धि हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित अभियान अघि बढाउने बताएका लामा पत्रकारिता तथा सामाजिक अभियानमा समेत संलग्न छन्। उनी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्यसमेत हुन्। आगामी स्थानीय निर्वाचनमा भक्तपुर र काभ्रेमा भ्रष्टाचारविरुद्ध जनमत निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
