जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास
काठमाडौँ, ५ मङ्सिर । काठमाडौँ महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रम्हस्थानमा जगपूजा र शिलान्यास गर्नुभएको हो ।
उहाँसँगै निर्माणस्थलको इशान (उत्तर-पूर्व) कोणमा वडा नं. २४ का अध्यक्ष एवम् हनुमाढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक बिनोद कुमार राजभण्डारीले, आग्नेय (दक्षिण-पूर्व) कोणमा वडा नं. २३ का अध्यक्ष एवम् विधायन समितिका संयोजक मचाराजा महर्जनले, वायव्य (उत्तर-पश्चिम) कोणमा वडा नं. १९ का अध्यक्ष एवम् पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र नैॠत्य (दक्षिण-पश्चिम) कोणमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जगपूजा र शिलान्यास गर्नुभयो ।
भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपियाँ लागत अनुमान गरिएको छ ।
शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले लामो प्रयास र मिहनेतपछि ऎतिहासिक कामको प्रारम्भ भएको बताउनुभयो । बहुपक्षीय सहभागिताबाट यसको निर्माण सम्पन्न हुने बताउँदै उहाँले भवन निर्माणलाई अपनत्व लिएर आफ्नै घर बनाए जसरी स्थानीयबाट निगरानी हुने अपेक्षा गर्नुभयो ।
त्यस क्रममा वडा नं. २३ का अध्यक्ष महर्जनले आफ्नो ९ वर्षे कार्यकालमा भएका महत्वपूर्णमध्ये श्रीगणेश र श्रीभैरवको भवन निर्माणको थालनी प्रमुख एउटा भएको बताउनुभयो ।

त्यस क्रममा पूर्व वडाध्यक्ष पवित्र बज्राचार्य, पूर्व गणेश, गणेश शाक्य, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले सम्पदाको संरक्षण र जीवन्तताका लागि महानगरपालिकाले थालेका कामको प्रस्गंशा गर्नुभयो ।
श्रीगणेश र श्रीभैरवको निवासस्थानका लागि साढे ३ तलाको वास्तुकलात्मक भवन निर्माण हुनेछ । आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवनका हरेक तला १३३८.७५ वर्गफिटका हुनेछन् । भवन जम्मा ४ हजार १६ दशमलव २५ वर्गफिट क्षेत्रफलको हुनेछ ।
पराम्परागत नेवारी वास्तुकलामा आधारित भवन इटा, काठ, चुना, सुर्की जस्ता निर्माण सामग्रीको प्रयोगबाट बन्नेछ । भवनमा कलात्मक झिँगटीको छानो हुनेछ ।

भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष हुनेछ । आर्किटेक्ट अमित बज्राचार्यका अनुसार पहिलो तलामा जीवित देवताहरुको दर्शन कक्ष र निवास कक्ष हुनेछ । दोस्रो तलामा भान्छा, शयन कक्ष लगायत स्थान हुनेछ ।
