सरस्वतीको प्रतिमा बनाउन व्यस्त धनुषाका मूर्तिकार
धनुषा,२९ पुस । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त भएका हुन् ।
जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका १२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी माघ १० गतेसम्म २२ प्रतिमा बनाइसक्ने गरी आफूले मङ्सिर २० देखि नै काम सुरु गरेको बताउनुभयो । “गत वर्ष ३५ मूर्ति बनाएको थिएँ”, उहाँले भन्नुभयो, “माघ १० गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्नेछ ।” उनन्तीस वर्षदेखि मूर्ति बनाउँदै आउनुभएका पण्डितले यो वर्ष मूर्ति बेचेर करिब ५० हजार कमाउने लक्ष्य राख्नुभएको छ ।
जनकपुरधाम १५ का ३६ वर्षीय पञ्चा पण्डितले पनि माघ १० नकट्दै १५ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताउनुभयो । त्यसैगरी जनकपुरधाम १९ का २३ वर्षीय राजाराम मण्डललाई पनि यतिबेला मूर्ति बनाउने चटारो छ । उहाँले यो वर्षको सरस्वती पूजामा २० प्रतिमा बेचेर ५० हजारसम्म कमाउने लक्ष्य राख्नुभएको छ । चन्द्रदेव, पञ्चा र राजारामले जस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहनुभएको छ ।
सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको राजाराम मण्डलले बताउनुभयो । उहाँले छ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यस्तै काम गर्ने गरेको बताउनुभयो । “यसरी माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर केही पैसा कमाउँछौँ”, मण्डलले भन्नुभयो, “केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्नुपर्छ ।”
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका १८ का ३५ वर्षीय विजय मण्डलले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताउनुभयो । उहाँले खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सघाउ पुगेको धारणा राख्नुभयो । “जागिर छैन, सधैँ काम हुँदैन”, मण्डलले भन्नुभयो, “आफूसँग भएको सीपको सदुपयोग गर्दै सरस्वती पूजा, दीपावली र अरु समयमा प्रयोग हुने प्रतिमा बनाएर केही भए पनि अर्थोपार्जन भइरहेको छ । यसले खर्च चलाउन राहत भएको छ ।”
जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । तीनदेखि पाँच दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र रु पाँच सयदेखि रु १० हजारसम्ममा बिक्री हुने उनीहरु बताउँछन् ।