नेपाल टेलिकमको वार्षिक पाँच हजार रुपियाँमा ३० एमबिपिएस फाइबर इन्टरनेट
काठमाडौँ, असोज ३० । नेपाल टेलिकमले वार्षिक चार हजार ९९९ रुपियाँमा ३० एमबिपिएस गतिको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला सरकारी स्वामित्वको टेलिकमले सहुलियत दरमा नयाँ प्याकेज सञ्चालनमा ल्याएको हो। टेलिकमका अनुसार नयाँ प्याकेज आजदेखि लागू हुनेछ।
टेलिकमले ‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ प्रविधिमा आधारित विभिन्न प्याकेज उपलब्ध गराउने भएको छ ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन सेवासहितको प्याकेजअन्तर्गत १०० एमबिपिएस गतिको इन्टरनेटका लागि ११ हजार ४९९ रुपियाँ, १५० एमबिपिएसका लागि १२ हजार ९९९ रुपियाँ र २०० एमबिपिएसका लागि १६ हजार ४९९ रुपियाँ शुल्क निर्धारण गरिएको छ ।
टेलिकमले वार्षिक प्याकेज लिने ग्राहकलाई दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क उपलब्ध गराउने जनाएको छ । नयाँ प्याकेज जडान गर्दा ग्राहकले ५०० रुपियाँ जडान शुल्कसमेत तिर्नुपर्ने छैन ।
टेलिकमले नयाँ प्याकेजमार्फत ग्राहकलाई सुलभ दरमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
