कार्यविधिविपरीत खटाइएका पीएसओ फिर्ता बोलाउन गृहको ७ दिने अल्टिमेटम

काठमाडौँ,२३  असोज । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षाका नाममा कार्यविधिविपरीत खटाइएका व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) लाई फिर्ता बोलाउन निर्देशन दिएको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएको हो।

मन्त्रालयले सुरक्षाकर्मीलाई सुरक्षा जिम्मेवारीबाहेक व्यक्तिगत तथा घरायसी काममा लगाइएको पाइएमा उजुरी गर्न सर्वसाधारण र स्वयं खटिएका सुरक्षाकर्मीलाई आग्रह गरेको छ।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ मा बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी स्पष्ट व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

तर, पछिल्लो समय कार्यविधिविपरीत सुरक्षाकर्मीलाई व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएको भन्दै व्यापक गुनासो आएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाउने सम्बन्धित अधिकृत तथा पदाधिकारीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *