चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे, महिलाको सङ्ख्या बढी
नारायणगढ, २७ असोज । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ। सङ्क्रमितमध्ये जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना रहेका छन्।
जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म एक हजार ८१६ जनाको नमूना परीक्षण गरिएकामा २३४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जनामा सङ्क्रमण देखिएको छ। त्यहाँ १८ पुरुष र २८ महिला सङ्क्रमित भएका छन्। त्यस्तै, भरतपुर महानगरपालिकामा नौ पुरुष र २३ महिलासहित ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ।
खैरहनी नगरपालिकामा २२, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार स्क्रब टाइफसबाट सङ्क्रमित हुनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ। जिल्लाभित्रका १४२ सङ्क्रमितमध्ये ५२ पुरुष र ९० महिला छन्। त्यसैगरी, बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला रहेका छन्।
हालसम्म जिल्लामा स्क्रब टाइफसका कारण कसैको मृत्यु नभएको कार्यालयले जनाएको छ। स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो। सङ्क्रमित मुसामा पाइने सूक्ष्म किर्ना (माइट वा चिगर)को टोकाइबाट यो रोग मानिसमा सर्छ।
जुम्राभन्दा पनि सानो हुने यस्तो किर्ना सामान्यतया नाङ्गो आँखाले देख्न सकिँदैन। यो विशेषगरी मुसाको कान वा शरीरमा बस्ने गर्छ। घाँस तथा झाडीमा किर्ना झरेको अवस्थामा मानिसको सम्पर्कमा आउँदा सङ्क्रमण हुन सक्छ। तर, यो रोग मानिसबाट मानिसमा भने सर्दैन।
स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, शरीर, मांसपेशी तथा जोर्नी दुख्ने, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनेजस्ता लक्षण देखिन सक्छन्। किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ बन्नु यसको प्रमुख पहिचानमध्ये एक हो।
समयमै उपचार नभएमा यसले फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्याउन सक्छ। गम्भीर अवस्थामा अङ्गले काम गर्न छाड्ने वा मृत्यु हुने जोखिमसमेत रहने स्वास्थ्यकर्मीहरू बताउँछन्।
भेक्टर कन्ट्रोल निरीक्षक केसीले यस मौसममा स्क्रब टाइफसको जोखिम कायम रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
उहाँले घरवरपरका झाडी सफा राख्न, खेतबारीमा काम गर्दा वा घाँसपात गर्दा शरीर ढाक्ने लुगा लगाउन तथा स्क्रब टाइफसका लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण र उपचार गराउन सुझाव दिनुभयो।
