बाढी-पहिरोले उजाडिएको चिनाखेत: न बास रह्यो, न चाडपर्वको रौनक
म्याग्दी, ३० असोज । । देशैभर दसैँ र तिहारको रौनकता छाइरहँदा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालको आँगनमा भने उराठलाग्दो मौनता र गहिरो आँसु मात्र छ। श्रीमान् गुमाउनुको वियोग, ओत लाग्ने घर र गोठ पहिरोले बगाएको चोट, अनि वर्षौँको मिहिनेतले हरियाली बनेको खेतीयोग्य जमिन आँखैअगाडि बगरमा परिणत भएपछि दिलमतीका लागि यस वर्षको चाडपर्व केवल एउटा दुःखद सम्झना मात्र बनेको छ।
“दुःख परेको समयमा त चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्नेरहेछ,” पहिरोको चोट सम्झिँदै दिलमती भन्नुहुन्छ, “जीवनको सहारा श्रीमान्सँगै बस्ने बास पनि खोस्यो। चारवटा भैँसी र पाडासहितको गोठ बगायो। खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुन्छ।”
यस वर्षको विनाशकारी मनसुनले दिलमतीको परिवारबाट सहारा र आश्रय दुवै एकैसाथ खोसिदियो। घरमाथिको डाँडाबाट खसेको पहिरोले सुतिरहेकै ठाउँमा पुरेर उनका ७० वर्षीय श्रीमान् लालवीर छन्त्यालको ज्यान लियो। पहिरो खसेको थाहा पाउनासाथ दिलमतीले ७ वर्षीय नाति दर्पण छन्त्याललाई झ्यालबाट बाहिर हुलेर ज्यान बचाउन त सफल हुनुभयो, तर आफ्नै जीवनका सहयात्री श्रीमान्लाई भने बचाउन सक्नुभएन। मातापिताको दोस्रो विवाहपछि हजुरबुबा र हजुरआमाको न्यानो काखमा हुर्कँदै आएका सानो नातिको बालमनमा पनि बुबा समान हजुरबुबा गुमाउनुपर्दा गहिरो चोट परेको छ।
दुई महिनाको अन्तरमा दोहोरिएको बज्रपात
चिनाखेतवासीका लागि यो विपद् कुनै एउटा कालो दिनमा मात्र सीमित रहेन। गत साउन ११ र असोज ११ गते गरी दुई महिनाको अन्तरमा आएको दुईवटा भीषण बाढी-पहिरोले सिङ्गो गाउँलाई नै छिन्नभिन्न बनाएको छ।
बस्तीमाथिको पाखोमा निरन्तर सक्रिय रहेको पहिरो खोलामा मिसिएर लेदो र गेगरसहित गाउँतर्फ पस्दा गाउँ नै जोखिममा परेको स्थानीय शिक्षक चमेली थापा बताउनुहुन्छ। “साउन र असोजमा लगातार पहिरो आएपछि चिनाखेतका बासिन्दा थातथलो छाडेर सुरक्षित स्थानमा बसाइँ सर्ने क्रम बढेको छ,” थापा भन्नुहुन्छ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ को पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गर्यो भने असोज ११ को बाढीले मोती पुन र लोकबहादुर पुनको घरमा बस्नै नमिल्ने गरी क्षति पुर्याएको छ।
व्यावसायिक कृषि र आत्मनिर्भर बन्ने सपना बगरमा विलीन
मगर र छन्त्याल समुदायको सघन बसोबास रहेको चिनाखेतका बासिन्दा पछिल्लो समय व्यावसायिक सुन्तला तथा तरकारी खेतीतर्फ आकर्षित थिए। गाउँमै श्रम गरेर आत्मनिर्भर बन्ने उनीहरूको उत्साहमा बाढी-पहिरोले गम्भीर धक्का पुर्याएको छ।
वडा कार्यालयका अनुसार बाढी-पहिरोले करिब ४२ घरपरिवारलाई प्रत्यक्ष प्रभावित बनाएको छ भने १५० रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको धानखेत, तरकारी फार्म र फल दिने सुन्तला बगैँचा बगरमा परिणत भएको छ।
स्थानीय कृषक भवी छन्त्याल भन्नुहुन्छ, “फल दिने बेला भएका करिब १०० वटा सुन्तलाका बोट रहेको मेरो बगैँचा पहिरोले पुरियो। वर्षौँको मिहिनेत र लगानी क्षणभरमै माटोमा मिल्यो।” अर्का कृषक धनबहादुर थापा पनि अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्तामा हुनुहुन्छ।
खानेपानी र सामुदायिक पूर्वाधार पनि ध्वस्त
विपद्ले निजी सम्पत्ति मात्र होइन, गाउँका साझा पूर्वाधारहरूसमेत बाँकी राखेन। चिनाखेत-डाँडाखानी खानेपानी योजनाको मुख्य मुहान र ट्याङ्की पूर्ण रूपमा पखालेको छ। हिमचुली स्पोट्र्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवन पहिरोमा पुरिएपछि गाउँको सामाजिक र खेलकुद गतिविधि ठप्प बनेको छ।
निरन्तरको जोखिमका कारण स्थानीय मोती पुन भन्नुहुन्छ, “बस्ने बास र कमाउने जमिन नै नभएपछि अब गाउँ नै छोडेर अन्यत्र जानुपर्ने बाध्यता आएको छ। हामी दोधारमा छौँ।”
विस्थापनको त्रास र पुनर्जागरणको पर्खाइ
गाउँ नै जोखिममा परेपछि बेनी नगरपालिका र प्रदेश सरकारको पहलमा भूगर्भविद्को टोली ल्याएर पहिरोको स्थलगत अनुगमन र अध्ययन गराइएको वडाध्यक्ष पदम पुनले जानकारी दिनुभयो।
अहिले चिनाखेतका बासिन्दा राज्यका निकायबाट:
-
अस्थायी आवास र सुरक्षित पुनर्वासको व्यवस्था,
-
जोखिमयुक्त पहिरोको प्राविधिक नियन्त्रण,
-
क्षतिग्रस्त खानेपानी तथा पूर्वाधारको पुनर्निर्माण, र
-
विस्थापित किसानका लागि जीविकोपार्जनका वैकल्पिक राहत कार्यक्रमको पर्खाइमा छन्।
पुख्र्यौली थलो छाड्नुपर्ने डर र आफन्त गुमाएको शोकबीच गुज्रिरहेका चिनाखेतवासीका लागि दसैँ-तिहारको खुसीभन्दा पनि ओत लाग्ने सुरक्षित छाना र पुनर्जागरणको आशा ठूलो बनेको छ।
