कञ्चनपुरमा एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै

कञ्चनपुर, १ माघ । कञ्चनपुरकाे लालझाडी गाउँपालिका–४ मा रु एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ ।

सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको हाे । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । “तल्लो तलामा सुविधासम्पन्न बर्थिङ सेन्टर रहन्छ”, उहाँले भन्नुभयो, “दोस्रो तलामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।” चालु आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर निर्माणकार्य पूरा हुने उहाँको भनाइ छ ।

“निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायौँ, केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ, स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्रीको अभाव छ”, उहाँले भन्नुभयो, “सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुन्छ ।”

विगतमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलाले पाँच किलोमिटर टाढाको देखतभुली स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो । देखतभुली स्वास्थ्यचौकी पुग्नका लागि गाउँको बीचमा नदी तर्नुपर्ने बाध्यता रहेको छ ।

“वर्षात्का बेला नदीमा बाढी आएका बेला सुत्केरी हुने महिलालाई काँधमा बोकेर लैजानुपर्ने अवस्था थियो”, रामकुमारी रानाले भन्नुभयो, “बाढीका कारण नदी तर्न नसकेर सुत्केरी हुने महिलालाई घरमै फर्काएर ल्याउने गरिएको थियो, निकै जोखिम थियो, बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको छ ।”

बर्थिङ सेन्टर निर्माण भएपछि लालझाडी गाउँपालिका–४ का एक हजार घरघुरी र शुक्लाफाँटा नगरपालिका–१२ का चार सय घरघुरी लाभान्वित हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *