युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी, माघ ४ । युक्रेनमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको हो ।
राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।
मृत्यु हुनेमा २ जना बालबालिका पनि रहेका छन् । दुर्घटनामा १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।
बयालीस वर्षीय गृहमन्त्री मोनास्टिरस्की दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि गृहमन्त्री नियुक्त हुनुभएको थियो ।