कांग्रेस सांसद ईश्वरी न्यौपानेद्धारा सभामुखमा उम्मेदवारी

काठमाडौं,४ माघ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिनु भएको छ ।

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन परिसर पुगेर उहाँले सभामुखमा मनोनयन दर्ता गराउनु भएको हो । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहनु भएको छ ।

कांग्रेसको केन्द्रीय सदस्य रहनु भएकी सांसद न्यौपाने कैलालीकी हुनुहुन्छ । उहाँले लामो समय महिला संघमा काम गर्नु भएको छ भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गर्नु भएको छ ।

कांग्रेस पदाधिकारी र संसदीय दल बैठकले सभामुखमा न्यौपानेलाई उठाउने बुधबार निर्णय गरेको थियो। सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

कांग्रेसले जसपा, एकीकृत समाजवादी र लोसपालगायत दलसँग छलफल गरेर सभामुखमा समर्थन जुटाउने तयारी गरेको छ। 

सभामुखका लागि बुधबार नै नेकपा एमालेका सांसद देवराज घिमिरेले पनि उम्मेदवारी दिनुभएको छ । उहाँलाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ।