प्रदर्शन अनियन्त्रीत भएपछि बालाजुमा एसपीको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन
काठमाडौं । बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ । गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । अहिले माछापोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाएको छ । अवस्था सामान्य बन्दै गएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले जानकारी दिएको छ ।
आज दिउँसो आन्दोलनकै क्रममा भने बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको पिकअप यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।
आफ्ना माग सार्वजनिक गर्ने कार्यक्रममा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि झडपको अवस्था आएको यातायात मजदुर संगठनले जिकिर गरेका छन् । सो आन्दोलनमा अश्रु ग्याँस प्रहार गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी हिमालयनकुमार श्रेष्ठले बताए। आन्दोलनरत यातायात मजदुरहरूले ढुंगामुढा गरेपछि आत्मरक्षामा एक सेल प्रहार गरेको उनले बताए।
यस्तै ल्होत्से मलमा तोडफोड र माछापोखरी स्थित प्रहरी बिटमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा पनि मजदुरहरूले आगजनी गरेका छन् । नापतौल तथा गुणस्तर विभाग भवन नजिकै रहेको बिट आन्दोलनकारीले जलाएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको बताइएको छ।