एसिसी प्रिमियर कपमा नेपालको सानदार सुरुआत : बहराइन ७ विकेटले पराजित

काठमाडौँ, १५ भदौ । नेपालले एसीसी पुरुष प्रिमियर कप २०२६ मा सुखद सुरुआत गरेको छ। मलेसियाको बङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरहरूको घातक बलिङ सामु ३६.२ ओभरमा मात्र ८७ रनमा अलआउट भयो। बहराइनका लागि फियाज अहमदले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे पनि टोलीलाई सम्मानजनक योगफलतर्फ लैजान सकेनन्।

नेपालको जितको आधार कप्तान सन्दीप लामिछानेले तयार पारेका थिए। उनले १० ओभर बलिङ गर्दै ४ मेडन राखेर मात्र १४ रन खर्चिँदै ५ विकेट लिए। सन्दीपको यो किफायती र घातक बलिङले बहराइनको इनिङ्सलाई तहसनहस पारेको थियो। त्यस्तै, ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिएर सन्दीपलाई बलियो साथ दिएका थिए।

८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा मात्र ३ विकेट गुमाएर जित सुनिश्चित गर्‍यो। नेपालको जितमा ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहे। यस्तै, अर्का ओपनर आसिफ शेखले १९ रन जोडे भने कप्तान रोहित पौडेलले १४ बलमा १९ रनको विष्फोटक पारी खेले। यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगितामा महत्वपूर्ण २ अङ्क जोडेको छ। नेपालले अब आफ्नो अर्को खेलमा हङकङको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *