रसुवागढी नाका बन्द भएपछि कोरलातर्फ ‘डाइभर्ट’ भए मालवाहक कन्टेनर, मुस्ताङमा बढ्यो चहलपहल

मुस्ताङ, १५ भदौ । विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा ठप्प भएपछि चीनबाट पैठारी गरिने मालवस्तु र कन्टेनरहरू धमाधम मुस्ताङको कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन्। रसुवागढी क्षेत्रमा सडक र भौतिक संरचनामा गम्भीर क्षति पुगेसँगै व्यवसायीहरूले वैकल्पिक मार्गका रूपमा कोरला नाकालाई रोज्न थालेका हुन्।

मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टका अनुसार आइतबार साँझ मात्रै ६६ वटा मालवाहक कन्टेनरहरू कोरला नाकातर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका अनिश्चितकालका लागि बन्द भएपछि चीनबाट ल्याइने सामान लिन ठुलो सङ्ख्यामा कन्टेनरहरू मुस्ताङ उक्लिन थालेको सशस्त्र प्रहरीले जनाएको छ।

कोरलातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाले भन्नुभयो, “रसुवागढी नाका बाढीले क्षतिग्रस्त भएपछि सबै मालवस्तु कोरलाबाटै ल्याउने तयारी भएको छ, त्यसैले हामी यतातिर लागेका हौँ।”

सरकारले कोरला नाकालाई रसुवागढी र तातोपानीको वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि यहाँको व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा यस नाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै २९ करोड रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। रसुवागढी नाका बन्द भएपछि आगामी दिनमा कोरलाबाट हुने आयात र राजस्व सङ्कलन अझै बढ्ने अनुमान गरिएको छ।

नाकामा चाप बढे पनि मुस्ताङ भन्सार कार्यालयमा भने कर्मचारीको अभाव देखिएको छ। कार्यालयका प्रमुख विदुर चुडालका अनुसार १८ जनाको दरबन्दी रहेको भन्सारमा हाल १२ जना मात्र कर्मचारी कार्यरत छन्। आयातको परिमाण बढेसँगै जनशक्तिको कमीले कार्यसम्पादनमा चुनौती थपिन सक्ने भन्दै कार्यालयले थप कर्मचारीको व्यवस्थाका लागि विभागसँग समन्वय गरिरहेको छ।

रसुवागढी नाका पुनः सञ्चालनमा आउन लामो समय लाग्ने देखिएकाले दशैँ–तिहार जस्ता पर्वका लागि आवश्यक चिनियाँ सामानहरू अब कोरला नाका भएर भित्रिने निश्चित भएको छ।