एसिसी प्रिमियर कप : बहराइन ८७ रनमा समेटियो, सन्दीपको घातक बलिङमा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौँ, १५ भदौ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनबाट ८८ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बहराइनलाई सस्तैमा समेटेको हो ।

एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक नेपालसँग प्रतिस्पर्धा गरिरहेको बहराइनले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८७ रन बनाउन सक्यो । नेपाली बलरहरूको कसिलो बलिङ सामु बहराइनका ब्याटरहरू निरीह देखिए । उसका लागि फियाज अहमदले सर्वाधिक १५ रन र मुहम्मद वसिमले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको स्कोर समेत छुन सकेनन् ।

बहराइनको इनिङ्स ध्वस्त पार्न कप्तान सन्दीप लामिछानेले जादुमयी प्रदर्शन गरे । उनले आफ्नो १० ओभरको स्पेलमा ४ ओभर मेडन राख्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सन्दीपको यो किफायती र घातक बलिङले बहराइनलाई मध्यम योगफल समेत बनाउन दिएन ।
सन्दीपलाई अन्य बलरहरूले पनि बलियो साथ दिए । स्पिनर ललित राजवंशीले ३ विकेट लिए भने तीव्र गतिका बलर करण केसीको नाममा २ विकेट रह्यो ।

नेपाल अहिले ८८ रनको न्यून लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ । उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले पहिलो खेलमै सानदार जित निकाल्ने अपेक्षा गरिएको छ ।