सुनको मूल्य तोलामा २४ सयले घट्यो, चाँदी भने स्थिर
काठमाडौँ, १५ भदौ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो कारोबार दिन आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ निर्धारण गरेको छ । आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजो (आइतबार) पनि सुनको मूल्यमा ९ हजार ५०० रुपैयाँको भारी गिरावट आएको थियो । पछिल्ला दुई दिनमा मात्रै सुनको भाउ तोलामा करिब १२ हजार रुपैयाँले घटिसकेको छ ।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।