भोटेकोशी बाढी : शिक्षण अस्पतालमा ९४ शव, ९ जनाको मात्रै सनाखत
काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ९४ जनाको शव सोमबार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज पुर्याइएको छ। बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका शवहरूलाई हेलिकप्टर र सडक मार्ग हुँदै परीक्षणका लागि अस्पताल ल्याइएको हो।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा प्राप्त भएका कुल ९४ शवमध्ये हालसम्म ४८ वटाको पोस्टमार्टम (शव परीक्षण) सम्पन्न भइसकेको छ। बाँकी ३७ वटा शवको पोस्टमार्टम प्रक्रिया जारी रहेको र अन्यको पनि क्रमशः गरिने उहाँले जानकारी दिनुभयो।
बाढीका कारण फेला परेका धेरैजसो शवहरू पहिचान गर्न कठिन भएको छ। हालसम्म अस्पतालमा ल्याइएका ९४ शवमध्ये मात्र ९ जनाको सफल सनाखत (पहिचान) भएको छ। पहिचान खुलेका ती शवहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवार तथा आफन्तको जिम्मा लगाइसकिएको अस्पताल प्रशासनले जनाएको छ।
पहिचान हुन नसकेका अन्य शवहरूको सनाखतका लागि प्रहरीले हुलिया र तस्बिरहरू सार्वजनिक गरी आफन्तहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ। गत बुधबारको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठुलो मानवीय क्षति पुर्याएको छ भने अझै सयौँ मानिस बेपत्ता रहेका छन्।