प्रणय दिवसमा प्रेमजोडीको रोजाइमा पाल्पाकाे रानीमहल

पाल्पा, २ फागुन । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका दिन युगल जोडीले साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर मनाउने गर्दछन् ।

प्रणय दिवसका यस अवसरमा आज देशका विभिन्न सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।

पाल्पाको पर्यटकीय रानीमहल पनि आज यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् ।

वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् । पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रेमिल जोडी आकर्षित हुने गरेका छन् ।

रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ ।

यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउनुहुन्छ । पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु ५० प्रवेश शुल्क कायम गरिएको छ ।

रानीमहल पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको योे रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।

रानीमहल विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ ।