गैरहाजिर १४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडौँ, १० मङ्सिर । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखाले बिहीबार सूचना जारी गर्दै तोकिएको समयभित्र सन्तोषजनक जवाफसहित उपस्थित नभए सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने जनाएको हो।
गैरहाजिर हुनेमा प्राविधिक प्रहरी नायव निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन्। उनीहरू गत भदौ र असोजदेखि आफूखुसी कार्यालयमा अनुपस्थित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सम्बन्धित कार्यालयले खोजतलास गर्दा पनि फेला नपरेपछि प्रहरी नियमावली, २०७१ अनुसार सूचना प्रकाशित गरी सफाइको मौका दिइएको हो।
प्रहरीले सबै कर्मचारीलाई आफू कार्यरत दरबन्दी वा सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र उपस्थित नभए नियमअनुसार सेवाबाट हटाउने कारबाही गरिने जनाइएको छ।
