५० वर्षीय राहुल विककाे एकवर्षदेखि ओढारमा बास

म्याग्दी, ९ फागुन । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विककाे एक वर्षदेखि ओढारकाे बास भएकाे छ ।

छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ५० वर्षीय राहुल विककाे ओढारमा बास भएकाे हाे ।

“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ”, उनले भने, “उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।”

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ ।

उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्छन् ।

“ राहुल विक मेरो भैंसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो”, कुरिलाखर्कका सुरेस ढुङ्गानाले भने, “उनी काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्छन् ।”

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार जान्छन् । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ ।

उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन्।