रिडीमा माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गर्ने तयारी

गुल्मी, ९ मङ्सिर । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गर्ने तयारी गरिएको छ।

कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै रुरुक्षेत्रलाई प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ। महास्नानका क्रममा धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा विभिन्न धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।

यसअघि रिडीमा माघे सङ्क्रान्तिको अवसरमा पाँच दिनसम्म माघी मेला लाग्दै आएको थियो। अब माघ महिनाभर नै धार्मिक गतिविधि सञ्चालन गरी श्रद्धालु तथा तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ।

महास्नानलाई व्यवस्थित र प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ। प्रदेश वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भइसकेको छ। बैठकमा मन्त्री चौधरीले महास्नानका लागि प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष ज्ञवालीका अनुसार रुरुक्षेत्रको धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसार र पूर्वतयारीका काम अघि बढाइएको छ। महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो।

रुरुक्षेत्रको धार्मिक महत्व कालीगण्डकी नदी र शालिग्राम शिलासँग जोडिएको छ। हिन्दू धर्मावलम्बीले कालीगण्डकीमा पाइने शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजाआजा गर्ने धार्मिक परम्परा रहिआएको छ। कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्रामको दर्शन र पूजाआजाका लागि नेपाल तथा भारतबाट समेत श्रद्धालु रिडी आउने गरेका छन्।

माघ महिनामा कालीगण्डकीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण माघे सङ्क्रान्तिमा रिडीमा विशेष भीड लाग्ने गरेको स्थानीय बताउँछन्। यही धार्मिक आस्थालाई माघ महिनाभर विस्तार गरी महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुको भनाइ छ।

रुरुक्षेत्रको प्रमुख धार्मिक आकर्षण ऋषिकेश मन्दिर हो। पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने उक्त मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायतका धार्मिक स्थल रहेका छन्।

धार्मिक सम्पदासँगै रुरुक्षेत्रमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षणसमेत थपिँदै गएका छन्। कालीगण्डकी करिडोरमा पर्ने रिडीमा निर्माण भएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुल प्रमुख पर्यटकीय आकर्षण बनेको छ। कालीगण्डकीमाथि निर्माण गरिएको उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ।

तीन जिल्लाको सङ्गमस्थलमा रहेको पुल, कालीगण्डकीको प्राकृतिक सौन्दर्य, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रका कारण रिडीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको छ। यसले रुरुक्षेत्रलाई धार्मिकसँगै सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप आधार दिएको स्थानीयको भनाइ छ।

महास्नानलाई प्रभावकारी बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकारवाला निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवा सुविधाको गुणस्तर सुधारका विषयमा छलफल अघि बढाएको जनाएको छ। चार धामबीच धार्मिक सम्बन्ध विस्तार गरी तीर्थयात्रीको आवागमन बढाउने लक्ष्यसमेत राखिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो।

माघ महिनाभर महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसबाट स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजा सामग्री तथा अन्य व्यापारिक गतिविधि विस्तार हुने गाउँपालिकाको अपेक्षा छ।

महास्नानको तयारीसँगै कालीगण्डकी नदीको धार्मिक महत्व, शालिग्रामको संरक्षण, प्रचारप्रसार तथा नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि पर्यटन मन्त्रालयसँग तथा आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो।

धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको ‘रुरु महास्नान’ मार्फत रुरुक्षेत्रको धार्मिक सम्पदा संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र पर्यटन विकासलाई एकसाथ अघि बढाउने गाउँपालिकाको लक्ष्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *