कुखुरा र कालिजपालनमा युवाको आकर्षण बढ्दो

पाल्पा, १२ फागुन । रामपुर पाल्पाका युवा कुखुरा र कालिजपालनमामा आकर्षित बनेका छन् ।
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका युवा हुन् तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन ।
पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका छन् ।
कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन् । उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए ।
थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हालेका हुन् । गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उहाँ हिजोआज व्यवसायमा व्यस्त छन् ।
स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन् । हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले रु आठ सय, पोथी रु सात सय र कालिज एउटाको रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ ।
बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन् । यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउँछन् । “स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु”, उनले भने, “कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु ।”
महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउँछन् । उनले एउटा कालिजको चल्ला रु तीन सय ८० मा खरिद गरेर ल्याएका थिए । थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पुर्याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दै छन् ।
यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन् । फार्ममा हाल नौवटा ठूला र १० साना खरायो र छवटा बाख्रा छन् । समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताए । कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनकाे अनुभव छ । कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने थापाकाे योजना छ ।
पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उनको भनाइ छ । यस व्यवसायमा करिब रु आठ लाखको लगानी परेको छ । यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ । कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ । चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताए ।