भैरहवामा महोत्सव बढ्दै : व्यवस्थित प्रदर्शनीस्थलको अभाव
मेला तथा महोत्सव
काठमाडौँ, असोज २९ । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्ने क्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावमा आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । स्थायी पूर्वाधार नहुँदा सडक तथा निजी जग्गामा महोत्सव सञ्चालन गर्नुपर्ने बाध्यता रहेको व्यवसायीले बताएका छन् ।
गत असोज २४ र २५ गते बुटवल-बेलहिया व्यापारिक मार्गअन्तर्गत देवकोटा चोकदेखि आँखा अस्पतालसम्म सडकमा सञ्चालन गरिएको खाना महोत्सवका कारण मुख्य सडकको आवागमन प्रभावित भएको थियो । सडकलाई नै कार्यक्रमस्थल बनाइँदा यात्रु तथा सवारीसाधनको आवागमन असहज बनेको थियो भने ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई समेत चुनौती थपिएको थियो ।
सिद्धार्थनगर र आसपासका बासिन्दालाई लक्षित गरी चेम्बर अफ कमर्स, रुपन्देहीले आयोजना गरेको उक्त महोत्सवको उद्देश्य स्थानीय खानपान तथा मनोरञ्जन प्रवर्द्धन गर्नु थियो । यद्यपि, मुख्य सडकमा कार्यक्रम सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाइ भएको थियो । यसबाट एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनको आवागमनसमेत प्रभावित हुनसक्ने भएकाले महोत्सव सञ्चालनका लागि वैकल्पिक स्थलको आवश्यकता औँल्याइएको छ ।
यसैबीच, सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आगामी मङ्सिर १७ देखि २८ गतेसम्म लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गर्ने तयारी गरेको छ । यसपटक निजी जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गर्न लागिएको छ । यसअघि सिद्धार्थ रङ्गशालामा आयोजना हुँदै आएको महोत्सव क्रिकेट मैदान निर्माण भएपछि उपयुक्त स्थलको अभावमा अन्यत्र सार्नुपर्ने अवस्था आएको व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मेला तथा महोत्सव सञ्चालनका लागि जग्गा भाडामा लिनुपर्ने, महँगो खर्च व्यहोर्नुपर्ने र स्थायी संरचनाको अभावमा व्यवसायीले कठिनाइ भोग्नुपरेको बताउनुभयो । व्यापारिक गतिविधि चलायमान बनाउन महोत्सव आवश्यक भए पनि त्यसका लागि उपयुक्त पूर्वाधार नहुँदा आयोजक तथा व्यवसायीले अपेक्षित सहजता पाउन नसकेको उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवामा स्थायी प्रदर्शनीस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । बुटवलमा प्रदर्शनीस्थलको व्यवस्था भए पनि भैरहवामा त्यस्तो पूर्वाधार नहुँदा व्यवसायी समस्यामा परेको उहाँले बताउनुभयो । निजी क्षेत्रलाई आवश्यक सुविधा तथा पूर्वाधार उपलब्ध गराउन सके व्यापार व्यवसाय विस्तार हुनुका साथै राज्यको राजस्वसमेत वृद्धि हुने उहाँको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनका लागि महोत्सव आवश्यक भए पनि व्यवस्थित स्थलको अभावले समस्या सिर्जना गरेको बताउनुभयो । प्रत्येकपटक जग्गा खोज्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने र अस्थायी संरचना निर्माणमा खर्च गर्नुपर्ने बाध्यता अन्त्य गर्न स्थायी प्रदर्शनीस्थल निर्माण आवश्यक रहेको उहाँको भनाइ छ ।
भैरहवा व्यापारिक, पर्यटकीय तथा सीमावर्ती क्षेत्रका रूपमा महत्वपूर्ण रहेकाले यहाँ आयोजना हुने मेला तथा महोत्सवबाट स्थानीय उत्पादन, कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्न सक्छ । त्यसैले सडक अवरुद्ध गरेर वा महँगो भाडामा निजी जग्गा लिएर मात्र यस्ता गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले निजी क्षेत्रसँग सहकार्य गरी स्थायी प्रदर्शनी तथा महोत्सवस्थल निर्माणमा पहल गर्नुपर्ने व्यवसायीको माग छ । व्यवस्थित पूर्वाधार निर्माण भए व्यवसायीको लागत घट्नुका साथै सडक अवरोध कम हुने, ट्राफिक व्यवस्थापन सहज बन्ने र सर्वसाधारणले पनि सहज रूपमा महोत्सवमा सहभागी हुन पाउने अपेक्षा गरिएको छ ।
