सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा ११०० रुपैयाँ सस्तियो
काठमाडौं, २९ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम बिहीबार पनि जारी रहेको छ। बुधबार तोलामा दुई हजार ७०० रुपैयाँ घटेको सुनको मूल्य बिहीबार थप एक हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार ३५ रुपैयाँमा झरेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २२० रुपैयाँले सस्तिएको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस चार हजार १४६ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
