महोत्तरीको वनमा लागेको आगो वस्तीमै पस्ने खतरा

महोत्तरी, १७ फागुन । महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । पानी नपरेका कारण वनमा लागेको डढेलो अझ फैलँदो छ भने आगो फैलँदै अब बस्तीमै आइपुग्ने खतरा पनि बढ्न थालेको छ । वनको आगो वस्तीसम्मै पस्ने चिन्ताले यस वरपरका बस्तीका बासिन्दाहरू राम्ररी सुत्न समेत सकेका छैनन् ।

यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा बढेको देखिन्छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा अहिले धुँवाको मुस्लो जताततै उठिरहेको देखिन्छ ।

यति धेरै आगो लागिसक्दा पनि कुनै पनि निकायले नियन्त्रणको प्रयास भने गरेको देखिँदैन । यसले गर्दा पनि आगो चाँडै फैलिरहेको र अब यो बस्ती भित्रै पस्ने खतरा बढिरहेको बताइन्छ ।

बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन् ।

डढेलो लगाउने क्रम नियन्त्रण हुन नसक्दा र वन क्षेत्रमा सुरक्षा गस्ती हिँड्न छाडेपछि लाथ्रा काटिने क्रम पनि ह्वात्तै बढेको स्थानीयवासीको भनाइ छ । वनसम्बद्ध सरकारी कार्यालयबाहेक साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति भए पनि यी वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो बढेको छ ।

“दिनदिनै डढेलोले वन खरानी बनाउँदै छ”, वन क्षेत्रसँगै जोडिएको गौशाला–१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो आफ्नो बस्ती नजिकको डढेलोले खरानी बनाएको वन प्लट देखाउँदै भन्नुभयो, “न डढेलो लगाउने समातिएका छन्, न लाथ्रा काट्ने नै !” वन कर्मचारीको कामप्रतिको उदासिनताले वन सखाप भइरहेको महतोको गुनासो छ ।

वनमा डढेलो लगाए त्यसपछि पानी परेलगत्तै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिककै पशुपालकले डढेलो लगाउने गरेका यस क्षेत्रका बूढापाकाको ठम्याइ छ । दिनहुँ गाईवस्तु डुलाउन वन क्षेत्र पुग्ने गोठालाले नै यस्तो छुल्याइँ गर्ने गरेका धेरैको बुझाइ छ ।