मलेसिया श्रमिक पठाउने प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

काठमाडौँ,  मङ्सिर १० । मलेसियामा वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक पठाउने क्रममा अवैध रूपमा रकम सङ्कलन गरी विदेश पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ पर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहनुभएका अर्याललाई प्रहरीले मोरङस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले अर्याल पक्राउ परेको पुष्टि गर्दै उहाँमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मलेसिया श्रमिक पठाउने प्रक्रियामा अवैध रूपमा रकम सङ्कलन तथा कारोबार भएको आरोपमा प्रहरीले यसअघि पनि विभिन्न उच्चपदस्थ सरकारी अधिकारीसहित अन्य व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

यस प्रकरणमा सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई पक्राउ गरेको थियो ।

त्यसैगरी, कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पनि पक्राउ परिसकेको सीआईबीले जनाएको छ ।

प्रहरीले यस प्रकरणमा सरकारी अधिकारी तथा अन्य व्यक्तिको संलग्नता, अवैध रकम सङ्कलन र आर्थिक कारोबारका विभिन्न पक्षमाथि अनुसन्धान जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *