साताको अन्तिम कारोबार पनि निरन्तर ओरालाे लाग्दै नेप्से

काठमाडाैं, १८ फागुन । नेप्से सूचक निरन्तर ओरालाे लाग्दै गएकाे छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २६.४८ अंक घटेर १९६९.०१ विन्दुमा झरेको छ । यस दिन नेप्से सूचक १.३३ प्रतिशतले घटेकाे हाे ।

नेप्से सूचक घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार २५६ वटा कम्पनीका ३६ लाख ५७ हजार १५४ कित्ता शेयर किनबेच भएर १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमुहको सूचक नकारात्मक देखिएका छन् । लघुवित्त उपसमुहको सूचक सबै भन्दा धेरै २.६४ प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोरो अंकले घटेको भएपनि बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर मूल्य भने सबै भन्दा धेरै ४.२९ प्रतिशतले बढेको छ ।

यता ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सर्वाधिक ७ प्रतिशतले घटेको छ । यस्तै स्वाभिमान लघुवित्त, नाडेप लघुवित्तको शेयर मूल्य पनि ५ प्रतिशत भन्दा धेरैले घटेका छन् ।

यस दिन हिमालयन डिस्टिलरीको शेयर सबै भन्दा धेरै ८ करोड १२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ । यस्तै शिवम सिमेन्टको ६ करोड ३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड ३७ लाखकाे काराेबार भएको छ ।