सुन्तलाले फेरिएको सुर्केमेलाको मुहार : परम्परागत अन्नबाली छाडेर व्यावसायिक सुन्तलाखेतीमा रमाउँदै किसान

म्याग्दी, १२ मङ्सिर । कुनै समय धान, मकै, कोदो र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलाका फाँटहरू अहिले पहेँलपुर सुन्तला बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको विकल्पमा व्यावसायिक सुन्तलाखेती रोजेका सुर्केमेलाका किसानको खेतबारीको स्वरूपसँगै आर्थिक जीवनशैलीमा समेत आमूल परिवर्तन आएको छ ।

लाखौँको आम्दानी, फेरियो जीवनशैली जनशक्ति अभावका कारण विसं २०६९ मा सात मुरी धान फल्ने खेतमा सुन्तला रोप्नुभएकी ६५ वर्षीया बालकुमारी रोका अहिले वार्षिक रु. सात लाख आम्दानी गर्नुहुन्छ । बगैँचामा रहेका २५० बोट सुन्तलाले कम मेहनतमा मनग्ये आम्दानी दिन थालेपछि उहाँ दङ्ग हुनुहुन्छ । “छोराछोरी विदेश भए पनि मलाई यही सुन्तला बगैँचामै रमाइलो लागेको छ,” उहाँले भन्नुभयो ।

सुर्केमेलाकी अर्की किसान द्रोपती थापाले पनि गत वर्ष रु. एक लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएकोमा यस वर्ष रु. तीन लाख पुग्ने अनुमान गर्नुभएको छ । फल दिने बोट थपिएकाले घरव्यवहार चलाउन निकै सहज भएको उहाँको अनुभव छ ।

सुरुवाती विरोधदेखि उदाहरणीय सफलतासम्म गाउँमा व्यावसायिक सुन्तलाखेती भित्र्याउने पहिलो किसान ४६ वर्षीय डिलबहादुर केसी हुनुहुन्छ । १५ वर्षअघि अंशमा पाएको धान खेतमा सुन्तला रोप्दा आफन्त र छिमेकीले ‘खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयो’ भन्दै गाली गरेको उहाँ अझै सम्झनुहुन्छ । तर, यूएई र मलेसियाको वैदेशिक रोजगारी छाडेर २० रोपनीमा ४५० बोट सुन्तला लगाउनुभएका केसीले यस वर्ष रु. १५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँले सुन्तलासँगै ‘केसी मौरीपालन स्रोत केन्द्र’ समेत सञ्चालन गरिरहनुभएको छ ।

केसीका अनुसार सुर्केमेलाका १६ जना किसानले व्यावसायिक सुन्तलाखेती गरिरहेका छन् । अर्का किसान धनराज पुनले ४०० बोट सुन्तलाबाट वार्षिक रु. १० लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । सुन्तलाको आम्दानीले कतिपय किसानले बेनी, बागलुङ र पोखरामा घरघडेरी जोडेका छन् भने छोराछोरीलाई राम्रा शिक्षालयमा पढाउन सफल भएका छन् ।

बगैँचाबाटै बिक्री, पूर्वाधारमा स्थानीय सरकारको साथ अनुकूल हावापानी, भूगोल र बालमखोला सिँचाइ योजनाका कारण सुर्केमेलाको सुन्तला म्याग्दीमै सबैभन्दा छिटो पाक्ने, रसिलो र स्वादिलो मानिन्छ । मङ्सिरको दोस्रो साताभित्रै काठमाडौँ, पोखरा र बेनीका व्यापारीहरू बगैँचामा पुगेर सुन्तला खरिद गर्ने भएकाले बजारको कुनै समस्या छैन ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान) का अनुसार कृषि ज्ञान केन्द्र र नगरपालिकाले अनुदानमा बिरुवा, कृषि औजार तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएका छन् । सुर्केमेला, बास्कुना र थामडाँडाको कृषि उपजलाई बजारसम्म सहजै पुर्‍याउन यसै वर्षदेखि ‘दुःखेखोला–सुर्केमेला–मरेक सडक’ स्तरोन्नति सुरु हुँदैछ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको रु. पाँच करोड लागत साझेदारीको यो बहुवर्षीय योजनाका लागि चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख विनियोजन भइसकेको छ । साथै, सुर्केमेला र सिङ्गा जोड्ने मोटरेबल पुल निर्माणका लागि डीपीआर तयार गरी सङ्घीय सरकारमा प्रस्ताव पेस गरिएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

चुनौती र सम्भावना सरकारी सहयोग र किसानको मेहनतले बाँझिन लागेका खेतबारी हराभरा बनेका छन् । यद्यपि, युवा पुस्ताको वैदेशिक रोजगारीप्रतिको आकर्षणका कारण सिर्जना भएको कृषि मजदुरको अभाव भने सुर्केमेलाका सुन्तला किसानका लागि मुख्य चुनौतीका रूपमा देखा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *