ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

एजेन्सी, १९ फागुन । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार अधिकारीहरुले जनाएका छन्।
उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए ।
अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन् ।
बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो । त्यस क्रममा ग्रीकको अग्नि नियन्त्रक सेवाका अधिकारीले पत्रकार सम्मेलनमा यहाँको अग्नि नियन्त्रक सेवाका युनिटहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्य गरेको जानकारी दिए ।
मध्य ग्रीकको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।
यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ ।
ग्रीक प्रहरीका प्रवक्ताका अनुसार अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् । ती घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेका र उनीहरुको आइसियुमा उपचार भइरहेको जनाएकाे छ ।