लुँचुंभुलु अजिमाको द्यःछेँ जीर्णोद्धारः उपप्रमुख सुनिता डंगोलबाट उद्घाटन

काठमाडौं, २१ फागुन । काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित महाबौद्धमा रहेको लुँचुंभुलु अजिमाको द्यःछेँ (देवघर) पुनर्निर्माण सम्पन्न भई हिजो काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभयो ।

वि.सं. २०७३ सालदेखि पुनर्निर्माण शुरु गरिएको उक्त द्यःछेँको कुल लागत रु. १ करोड ५७ लाख रहेको छ । यसमा काठमाडौं महानगरपालिकाले रु. १७ लाख ५० हजार उपलब्ध गराएको हो । बाँकी रकम जनसहभागिताबाट जुराएको थियो ।

हिजो एक समारोह बीच कामपाका उपप्रमुख सुनिता डंगोलले पुनर्निर्माण बारे राखिएको शिलापत्र खोलेर द्यःछेँको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख डंगोलले अत्यधिक जनसहभागिताबाट पुनर्निर्माण गरिएको यो द्यःछेँ सम्पदा संरक्षणमा समुदायको योगदानका लागि एक नमूना कार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो द्यःछेँ बनाउन अन्य निकाय भन्दा पनि समुदायको आफ्नै सहयोग र योगदान धेरै परेको छ । यसले गर्दा सम्पदाप्रति अपनत्व महसुस गराई यो मेरो पनि सम्पदा हो भन्ने भावना जागृत गराउँछ ।’

समुदाय आफै जागृत भई अगाडि बढाउने यस्तो कार्यलाई काठमाडौं महानगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहयोगका लागि महानगरपालिकाको ढोका सदैव खुल्ला रहने जानकारी पनि दिनुभयो ।

यो द्यःछेँमा स्थानीय टोलवासीको जात्रा सम्बन्धी सामग्रीहरू राख्ने, नयाँ पुस्तालाई धिमे बाजा सिकाउने गरिन्छ ।

लँुचुंभुलु अजिमा महाबुद्धका अध्यक्ष पञ्चनारायण महर्जनका अनुसार यो द्यःछेँ निर्माण कार्यमा स्थानीय समुदायको धेरै ठूलो योगदान रहेको छ । द्यःछेँ निर्माण गर्दा सम्बन्धित गुठीका सदस्यहरूले श्रमदान गर्नुका साथै धेरै श्रद्धालु भक्तजनहरूले आर्थिक सहयोग पनि गरेका थिए ।

साथै गुठीले पनि नियमित रुपमा आयोजना गर्नुपर्ने भोज खर्च समेत कटाएर जीर्णोद्धार कार्यका लागि रकम जम्मा गरेको थियो ।

यो द्यःछेँसँग सम्बन्धित मूल देवीको मन्दिर भने कामपा २५ वडास्थित केलटोलमा रहेको छ । लुँचुंभुलु अजिमा मूलतः भद्रकाली देवी (लुँमधि अजिमा) हुन् ।