सडक सञ्जाल विच्छेद भएपछि गत्लाङका बन्दागोभी किसान चिन्तित

काठमाडौँ, भदौ २३ । भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि रसुवाको आमाछोदिङमो गाउँपालिका ३, गत्लाङका बन्दागोभी किसानहरू गम्भीर चिन्तामा परेका छन् । व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका यस क्षेत्रका करिब ५०० घरधुरीका किसानहरूले उत्पादन तयार हुने समयमा सडक अवरुद्ध हुँदा फसल बजारसम्म पुर्‍याउन नसकिने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

परम्परागत तामाङ वस्तीका रूपमा परिचित गत्लाङमा यसवर्ष बन्दागोभीको उत्पादन राम्रो रहेको छ। स्थानीय कृषक मार लामाका अनुसार गत वर्ष १ हजार ६५० ट्रक बन्दागोभी बिक्री भएको यस क्षेत्रमा यसवर्ष करिब २ हजार १०० टन उत्पादन हुने अनुमान गरिएको छ ।

“अबको १५ देखि २० दिनभित्र बन्दागोभी बजार पठाउन तयार हुन्छ, तर बाटोको अवस्था भयावह छ,” लामाले भन्नुभयो, “समयमै सडक पुनःनिर्माण नभए किसानहरूको लगानी डुब्ने र जीविकोपार्जनमै समस्या आउने देखिन्छ । सरकारले तत्काल बाटो निर्माणमा ध्यान दिनु आवश्यक छ ।”

गत्लाङका किसानका लागि बन्दागोभी खेती नै आयआर्जनको प्रमुख स्रोत हो । गाउँपालिका उपाध्यक्ष चण्डीका तामाङले उर्वर भूमि भए पनि भौगोलिक विकटता र प्राकृतिक विपत्तिले किसानलाई मारमा पारेको बताउनुभयो । “दैनिक खाद्यान्नदेखि नुन-तेल, शिक्षा, स्वास्थ्य र बैंकको कर्जा तिर्नका लागि समेत यहाँका बासिन्दा बन्दागोभीकै भर पर्छन् ।” उपाध्यक्ष तामाङले भन्नुभयो, “यदि समयमै सडक सुचारु भई उत्पादन बिक्री हुन सकेन भने बाढीपछिको अर्को ठूलो आर्थिक विपत्ति निम्तिने खतरा छ ।”

बाढीले सडक सञ्जाल क्षतविक्षत पारेपछि अहिले सो क्षेत्रमा ढुवानीका साधन चल्न सक्ने अवस्था छैन । किसानहरूले फसल बारीमै कुहिने डरले चिन्तित हुँदै सम्बन्धित निकायलाई सडक मर्मतका लागि तत्काल पहल गरिदिन अनुरोध गरेका छन् ।