अमेरिका र क्यानडाबीच ‘व्यापारिक युद्ध’ उत्कर्षमा: ट्रम्पको चेतावनीपछि क्यानडाद्वारा अर्बौंको कर वृद्धि
न्युयोर्क/ओटावा । उत्तरी अमेरिकी छिमेकीहरू संयुक्त राज्य अमेरिका र क्यानडाबीचको व्यापारिक सम्बन्धमा ठूलो दरार आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली उत्पादनमा लगाएको भन्सार महसुलको जवाफमा क्यानडाले पनि अर्बौँ डलर बराबरका अमेरिकी सामानमा भारी कर वृद्धि गरेको छ।
मंगलबार बिहानैदेखि लागू हुने गरी क्यानडाले करिब २० अर्ब डलर बराबरका अमेरिकी सामानमा १५ देखि ५० प्रतिशतसम्म ‘जवाफी’ भन्सार महसुल (Tariffs) लगाएको छ। यसमा कागजका सामग्री, निर्माण सामाग्री, घरायसी उपकरण र कृषिजन्य उत्पादनहरू समावेश छन्।
ट्रम्पको नयाँ निशाना: बम्बार्डियर विमान
व्यापारिक वार्ता असफल भएपछि राष्ट्रपति ट्रम्पले क्यानडाको प्रख्यात विमान निर्माता कम्पनी ‘बम्बार्डियर’ (Bombardier) लाई अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यदि उनीहरूलाई हाम्रो बजार चाहिन्छ भने, उनीहरूले यहीँ विमान बनाउनुपर्छ । अमेरिकालाई ‘पिगी बैंक’ (पैसा जम्मा गर्ने भाँडो) सम्झिन बन्द गर्नुपर्छ।”
जवाफमा मोन्ट्रियलस्थित बम्बार्डियर कम्पनीले आफूले अमेरिकामा दशौँ हजार रोजगारी सिर्जना गरेको र त्यहाँ आफ्नो ठूलो उत्पादन संयन्त्र रहेको दाबी गरेको छ।
किन टाढिए यी दुई मित्र राष्ट्र?
पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच वाक्युद्ध नै चलेको छ। ट्रम्पले ओन्टारियो तालको नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने प्रस्तावदेखि गाडीहरूमा लाग्ने कर दोब्बर पार्ने धम्कीसम्म दिएका छन्।
क्यानडाली अधिकारीका अनुसार अमेरिकाले क्यानडाको ‘फ्रेन्च भाषा’ र संस्कृतिसँग सम्बन्धित नियमहरू परिवर्तन गर्न दबाब दिएपछि वार्ता भाँडिएको हो। प्रधानमन्त्री कार्नीले संस्कृति र भाषा क्यानडाको आधारभूत अधिकार भएको भन्दै अमेरिकाले गम्भीर भएर वार्ता नगरेको आरोप लगाएका छन्।
को बढी मारमा पर्ने?
अमेरिकी अर्थतन्त्र क्यानडाको तुलनामा १३ गुणा ठूलो भए पनि यो व्यापारिक युद्धबाट अमेरिकालाई पनि ठूलो क्षति हुने विज्ञहरूको तर्क छ। अमेरिका र क्यानडाका उद्योगहरू एकअर्कामा यसरी जोडिएका छन् कि एउटालाई असर पर्दा अर्कोलाई प्रतिस्थापन गर्न सहज छैन।
ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकाले कर नघटाए अमेरिकाका सीमावर्ती राज्यहरू (न्युयोर्क र मिशिगन) मा विद्युत निर्यात बन्द गर्न सक्ने चेतावनी समेत दिएका छन्।
उपभोक्तालाई महँगीको मार
हार्वर्ड विश्वविद्यालयका प्रोफेसर गोर्डन ह्यान्सनका अनुसार, व्यापारिक सम्झौताहरू पहिले नै भइसकेका कारण तत्कालै मूल्य नबढे पनि आगामी गर्मीयाम (Summer) सम्ममा दुवै देशका उपभोक्ताले सामानको मूल्यमा उल्लेख्य वृद्धि महसुस गर्नेछन्।
अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनको मुखमा यो विवादले राजनीतिक र आर्थिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ।