अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैं, २४ फागुन । टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाले धापासी स्वास्थ्यचौकी र ग्रीनलाइफ हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी महिलाकै भएको बताउनुभयो । महिला आन्दोलनका कारण देशले महिला राष्ट्रपति पाएको उहाँको भनाइ थियो ।

“मङ्गलादेवी सिंह, साहना प्रधानलगायतले नेपालमा महिला हकअधिकार रक्षाका लागि सङ्घर्ष गरेको कारण अहिले देशका हरेक स्थानमा महिला सहभागीता बढेको छ”, उहाँले भन्नुभयो । टोखा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उहाँको भनाइ थियो ।

ग्रीनलाइफ हेल्थ केयरका डा क्षितिज सापकोटाले ग्रीनलाइफ हेल्थ केयरलाई सामुदायिक अस्पतालका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

टोखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नरोत्तम रानाले निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत स्त्रीरोग विशेषज्ञ परामर्श, पाठेघर मुखको क्यान्सर जाँच, प्रयोगशाला जाँच, भिडियो एक्सरे र औषधि वितरण निःशुल्क रुपमा गरिने जानकारी दिनुभयो ।

आज हुने निःशुल्क महिला स्वास्थ्य जाँचमा टोखाभित्रका दुईसय १४ महिलाले नाम दर्ता गरेको महिला शाखाकी अधिकृत विमला वाग्लेले जानकारी दिनुभयो ।