नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडाैं, २५ फागुन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निणर्य गरेसँगै नेप्से परिसूचक ५० अंक बढेर बन्द भएको छ।

बैंकर्स संघको बिहीबार बसेको बैठकमा बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।

आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका बैंकहरुले प्रिमियम घटाउने भएसँगै कर्जाको ब्याजदर घट्ने भएको छ।

बिहीबार नेप्से परिसूचक ५०.०४ अंक बढेर २००२.७० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २६२ स्टकको ३८ हजार १३१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ४५ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य २९ रुपैयाँ १० पैसा बढेर ३२० रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।