बेलायती दरवारमा अंश विवाद

काठमाडौं, २८ फागुन । बेलायतको राजदरवारमा राजा चाल्स र उहाँका भाइ एण्ड्रिउ बीच अंश विवाद शुरु भएको छ । उहाँहरूकी आमा एवं बेलायतकी स्वर्गीय महारानी एलिजावेथ द्वितीयाको सम्पत्तिलाई लिएर दाजुभाइ बीच विवाद शुरु भएको हो ।

स्वर्गीय महारानी एलिजावेथ द्वितीयाको ६५ करोड पाउण्ड बराबरको अचल सम्पत्तिमाथि राजकुमार एण्ड्रिउले अंश दावी गर्दै आइरहनुभएको छ । तर उहाँका दाजु एवं राजा चाल्र्सले आमाको सम्पत्तिबाट उहाँलाई कुनै पनि अंश नदिने संकेत देखाएपछि राजकुमार एण्ड्रिउ पीडित भएको बताइएको छ ।

राजकुमार एण्ड्रिउले आफ्नी आमाको सम्पत्तिबाट आफूलाई अंश नदिने दाजुको नियतले आफू मर्माहत भएको बताउनुभएको छ ।

तर राजा चाल्सले भने महारानी एलिजावेथको सम्पत्ति ‘राजाबाट राजामा मात्रै’ हस्तान्तरण गर्न सकिन्छ, अरुलाई हस्तान्तरण गर्न मिल्दैन भन्ने तर्क अघि सार्दै आएको छ ।

महारानीको सम्पत्ति दरवारको सम्पत्ति हुन्छ, निजी हुँदैन भन्ने तर्क राख्दै राजा चाल्सले दरवारको सम्पत्ति बाँडफाँड गर्न नमिल्ने दावी पनि गरेको छ ।

महारानीको सम्पत्ति एक राजाबाट अर्को राजामा हस्तान्तरण गरिए मात्रै कर तिर्नु पर्दैन । यदि व्यक्तिमा हस्तान्तरण गरियो भने कर लाग्ने हुन्छ । त्यसैले पनि महारानीको सम्पत्ति एण्ड्रिउलाई नदिने भनिएको हो ।

राजकुमार एण्ड्रिउ हाल बेलायती दरवारको जिम्मेवारीबाट मुक्त हुनुहुन्छ । तीन वर्ष अघि एउटा यौन सम्बन्धी प्रकरणका कारण राजदरवारले उहाँको जिम्मेवारी र उपाधि समेत खोसेको थियो ।

हालै मात्र राजकुमार एण्ड्रिउको उपचारको लागि दरवारमा बस्न आइपुगेका एक भारतीय योगीलाई तिर्नुपर्ने ३२ हजार पाउण्डको बील दरवारले तिर्न नमानेपछि दाजुभाइ बीच अंश मुद्दा चर्किएको हो ।

अहिले राजकुमार एण्ड्रिउसँग कुनै काम र सम्पत्ति समेत नभएको कारणले उहाँ मर्कामा पर्नुभएको छ ।

राजदरवारमा उहाँलाई बस्नका लागि ३० कोठा भएको घर दिइएको थियो । अब उहाँलाई त्यो घर छोडेर ५ कोठा भएको सानो घरमा सर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *