पचली भैरवको नयाँ मूर्ति स्थापना
काठमाडौं, २९ फागुन । काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित श्री पचली भैरवको मन्दिरमा नयाँ मूर्ति स्थापना गरिएको छ । सो ठाउँमा श्री पचली भैरवको धातुको आकर्षक नयाँ मूर्ति स्थापना गरिएको हो ।
पचली भैरव गुठीका गुठियार आशा नारायण महर्जनका अनुसार पुरानो मूर्ति अत्यन्तै जीर्ण भएकोले त्यसलाई हटाई नयाँ मूर्ति स्थापना गरिएको हो ।
भैरवको मुख्य मूर्तिका साथै त्यहाँ रहेका अष्टमातृकाका साना साना मूर्तिहरू पनि नयाँ राखिएको हो ।
महर्जनका अनुसार मूर्ति अत्यन्त जीर्ण भएकोले गुठीकै पहलमा दाताहरूबाट सहयोग संकलन गरी नयाँ मूर्ति राखिएको हो । अहिले फेरिएको पुरानो मूर्ति आजभन्दा आठभन्दा अघि नयाँ बनाई राखिएको थियो ।
हिजो पचली भैरवको मन्दिर परिसरमा एक विशेष पूजा आयोजना गरी नयाँ मूर्ति स्थापना गरिएको हो ।

मन्दिरमा नयाँ मूर्ति स्थापना गरिसकेपछि धातुको पुरानो मूर्ति मन्दिरकै भण्डारमा राखिने पनि महर्जनले बताउनुभयो ।
पचली भैरवको मन्दिरमा एउटा मूर्ति रहन्छ भने दशैँ ताका जात्रामा अर्कै मूर्ति परिक्रमा गराइन्छ । अहिले फेरिएको मन्दिरमा रहने मूर्ति हो ।
आउँदो वर्षको दशैँदेखि पचली भैरवको बाह्र वर्षे नाच पनि निकालिँदैछ ।
