स्वास्थ्य कार्यालय तनहुँद्वारा सुत्केरीलाई पोषण खर्च
तनहुँ, ३ चैत्र । स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ ।
गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो ।
लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन लागिएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार सुत्केरीलाई एकमुष्ठ रु नौ हजार प्रदान गरिनेछ ।
कार्यालयले सुत्केरीलाई पोषण खर्चबापतको रकम उपलब्ध गराउनका लागि सबै स्थानीय तहसँग विवरण माग गरेको छ । “चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि सुत्केरी भएका महिलालाई उक्त रकम प्रदान गरिने छ, त्यसका लागि दश वटै स्थानीय तहसँग विवरण माग गरेका छौँ”, उनले भने ।
अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख सुत्केरी आमा पोषिलो खाना कार्यक्रममार्फत रकम उपलब्ध गराउन लागिएको उनले बताए । अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायको वर्गमा पर्ने सुत्केरी आमा हुनुपर्ने र त्यसको पहिचान सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नुपर्ने प्रमुख अधिकारीले बताए ।
गर्भपतन गराएकाको हकमा पोषण खर्च उपलब्ध नगराइने जनाइएको छ ।यो रकम लिनका लागि सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस पत्र, नागरिकता वा परिचय खुल्ने आधिकारिक सरकारी कागजातको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सुत्केरीको नाममा खोलिएको बैंक खताको चेकको प्रतिलिपि उपलब्ध गराउनुपर्ने कार्यालयले जनाएको छ ।