आज पञ्जराँ अर्थात् पञ्चदान पर्व, काठमाडौं उपत्यकामा श्रद्धापूर्वक मनाइँदै
काठमाडौं, २४ भदाै । काठमाडौं उपत्यकामा आज बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्वपूर्ण पर्व पञ्चदान अर्थात् ‘पञ्जराँ’ श्रद्धापूर्वक मनाइँदैछ। बौद्ध परम्पराअनुसार प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्व यस वर्ष बुधवार परेको हो।
मन्दिर, चैत्य, देवालय र शिवालयले भरिएको काठमाडौं उपत्यकामा वर्षभरि विभिन्न जात्रा तथा चाडपर्व मनाइन्छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् गठांमुगःपछि उपत्यकामा चाडपर्वको क्रम तीव्र हुने गर्दछ। यही क्रममा गुँला महिनामा पर्ने पञ्चदान पर्वलाई बौद्ध धर्मावलम्बी नेवार समुदायले विशेष धार्मिक महत्वका साथ मनाउँदै आएका छन्।
गुँला महिना बौद्ध धर्मावलम्बीहरूका लागि धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस अवधिमा बौद्ध देवस्थलहरूको दैनिक परिक्रमा गर्ने, व्रत बस्ने, अरूको उपकार गर्ने तथा ‘लक्ष चैत्य’ अर्थात् माटोबाट एक लाख चैत्य निर्माण गर्नेजस्ता धार्मिक गतिविधि सञ्चालन गर्ने परम्परा छ। गुँला महिनामै दानधर्मलाई विशेष महत्व दिइने भएकाले पञ्चदान पर्वलाई दान दिने पर्वका रूपमा समेत लिइन्छ।
बौद्ध दर्शनमा बुद्धत्व प्राप्तिका लागि अभ्यास गर्नुपर्ने दश पारमितामध्ये दान पारमितालाई पहिलो पारमिताका रूपमा लिइन्छ। दानले मैत्री, करुणा, मुदिता र उपेक्षाजस्ता भावनाको विकासमा सहयोग पुग्ने तथा दान पारमिता पूर्ण हुँदै जाँदा अन्य पारमिताको अभ्यास गर्न सहज हुने बौद्ध मान्यता छ। यही मान्यताका आधारमा पञ्चदान पर्वलाई बौद्ध नेवार समुदायले श्रद्धा र भक्तिपूर्वक मनाउँदै आएको पाइन्छ।
पञ्चदानका अवसरमा उपासक तथा उपासिकाहरूले आफ्ना घरमा दिपंकर बुद्धको प्रतिमा स्थापना गरी बज्राचार्य तथा शाक्य भिक्षु संघलाई विभिन्न सामग्री दान गर्ने परम्परा छ। पिण्डपात्रमा धान, चामल, गेडागुडी, खिर, नुनलगायत खाद्य सामग्रीका साथै औषधी, खरी, धागो, सियो, वस्त्र, सर्वत, कुचो, डोरी, दियोलगायत दैनिक जीवनमा आवश्यक वस्तुहरू दान गर्ने गरिन्छ।
कतिपय स्थानमा विशेष दानशाला निर्माण गरी बज्राचार्य तथा शाक्य भिक्षुहरूलाई निमन्त्रणा गर्ने, पाउ धोई पूजा गर्ने र विभिन्न सामग्री दान गर्ने चलनसमेत छ। यस प्रकारको पञ्चदानलाई ‘नराँ पञ्चदान’ भन्ने गरिन्छ। भिक्षुहरू आफ्ना जजमानका घरमा पुगेर पञ्चदान ग्रहण गर्नुका साथै आफ्नै घरमा समेत अन्य बज्राचार्य तथा शाक्य भिक्षुहरूलाई पञ्चदान दिने परम्परा रहेको छ।
पञ्चदान ग्रहण गर्ने क्रममा गुरुहरूबाट दानगाथा वाचन गर्ने चलन छ। दानगाथामा दानको महिमा तथा विभिन्न वस्तु दान गर्दा प्राप्त हुने धार्मिक फलका बारेमा उल्लेख गरिएको हुन्छ। पञ्चदान सम्पन्न भएपछि जजमानलाई आयु, आरोग्य, जन, धन, सन्तान, यश र प्रज्ञा वृद्धि होस् भन्ने कामनासहित सप्तवृद्धिको आशीर्वाद दिने परम्परा छ।
दानको महिमा वर्णन गर्ने प्रसिद्ध दान प्रशंसा गाथामा भनिएको छ—
“दानं विभूषणं लोके, दानं दुर्गति निवारणं ।
दानं स्वर्गस्य सोपानं, दानं शान्तिकरं शुभम् ।।”
यसको भावार्थमा दानलाई यस लोकको आभूषण, दुर्गति निवारण गर्ने माध्यम तथा स्वर्गको सोपानका रूपमा व्याख्या गरिएको छ। शान्तिपूर्वक गरिने दान शुभ हुने धार्मिक विश्वास यस गाथाले व्यक्त गर्दछ।
दिपंकर बुद्धको समयदेखि पञ्चदानको परम्परा
पञ्चदान पर्वको प्रचलन बुद्ध भगवान् शाक्यमुनिभन्दा पनि अगाडिको समयसँग जोडिएको बौद्ध परम्परामा उल्लेख पाइन्छ। ‘पिण्डपात्रावदान’मा उल्लेखित कथाअनुसार दिपंकर बुद्धको समयमा सर्वानन्द नामका राजाको पालादेखि बुद्ध संघलाई पञ्चदान दिने परम्परा सुरु भएको विश्वास गरिन्छ।
अवदान कथाअनुसार एक दिन दिपंकर बुद्ध सर्वानन्द राजाको निमन्त्रणामा राजदरबारतर्फ भिक्षा ग्रहण गर्न जाँदै गर्दा लक्ष्मी थकुं नामकी वृद्ध महिलाले आफ्नै घरमा लगेर आफूले दुःख गरी कमाएको अन्न–धन दान गरेकी थिइन्।
वृद्ध लक्ष्मी थकुंले दिएको दान स्वीकार गरेपछि सर्वानन्द राजाले दिपंकर बुद्धसँग त्यसको कारण सोधेको कथामा उल्लेख छ। दिपंकर बुद्धले मेहनत गरी कमाएको धनबाट गरिएको दानको महत्व राज्यकोषबाट दिइने दानभन्दा बढी हुने बताउनुभएको जनविश्वास छ।
त्यसपछि सर्वानन्द राजाले पनि आफ्नो परिचय लुकाएर फलामको काम गर्ने स्थानमा ज्यामीका रूपमा मेहनत गरी कमाएको धनबाट दिपंकर बुद्धलाई दान दिएको कथामा उल्लेख छ। यही पुण्य तथा दश पारमिताको अभ्यास गर्दै सर्वानन्द राजा अनेकौं जन्मपछि सिद्धार्थ गौतमका रूपमा जन्मिएर बुद्धत्व प्राप्त गरेको बौद्ध परम्परामा विश्वास गरिन्छ।
यसै कारण पञ्चदान पर्वमा दिपंकर बुद्धको प्रतिमा अगाडि राखेर दान दिने परम्परा आजसम्म कायम रहेको मानिन्छ।
ललितपुरको गुईतः बही विहारमा गुँला महिनाभरि ‘गुईतः अजिः’ अर्थात् लक्ष्मी थकुंको प्रतिमा प्रदर्शन गर्ने परम्परा समेत रहेको छ। यसले पञ्चदान पर्वलाई केवल दान दिने धार्मिक अवसरका रूपमा मात्र नभई बौद्ध दर्शन, परम्परा, करुणा र सामाजिक सहकार्यसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित गरेको छ।
पञ्चदानमार्फत दान, सेवा र परोपकारको भावना पुस्तान्तरण हुँदै आएको बौद्ध नेवार समुदायको विश्वास छ। काठमाडौं उपत्यकामा आज विभिन्न विहार, बही तथा घरघरमा धार्मिक विधिअनुसार दिपंकर बुद्धको पूजा तथा पञ्चदान गरी यो पर्व मनाइँदैछ।