ट्रम्पद्वारा क्यानाडाली आयातमा थप कडाइ, नयाँ शुल्क र प्रतिबन्ध लागू हुँदै

एजेन्सी, २४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद अझ चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध तथा उच्च शुल्क लगाउने निर्णय गरेका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकी निर्भरता घटाउँदा तत्काल लागत बढ्ने भए पनि दीर्घकालमा त्यसको फाइदा पीडाभन्दा बढी हुने बताएका छन्।

ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायतका क्यानाडाली उत्पादनमा आगामी सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ भने मादक पेय पदार्थ र केही दुग्ध उत्पादनको आयातमा सेप्टेम्बर २९ देखि पूर्ण प्रतिबन्ध लगाइनेछ।

वासिङ्टनले गत अगस्ट २२ मा क्यानाडाली वस्तुमा शुल्क लगाएपछि ओटावाले प्रतिकारस्वरूप अमेरिकी आयातमा २७ अर्ब ६० करोड क्यानाडाली डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाएको थियो। यसको प्रतिक्रियामा ट्रम्पले क्यानाडाली कम्पनीहरूलाई अमेरिकी सरकारी ठेक्काबाट वञ्चित गर्ने चेतावनी समेत दिएका छन्।

यसअघि उनले क्यानाडाली विमान निर्माता कम्पनी बोम्बार्डियरको बिक्री नै रोक्ने प्रयास गर्ने चेतावनी दिएका थिए, जसप्रति कान्सासका रिपब्लिकन सिनेटरद्वय रोजर मार्सल र जेरी मोरानले अमेरिकी रोजगारी संरक्षणका लागि ह्वाइट हाउससँग चासो राखेको जनाएका छन्।

प्रधानमन्त्री कार्नीले व्यापार विवाद थप बढाउने पक्षमा आफू नरहेको स्पष्ट पार्दै कामदार, कम्पनी र समुदायको हित संरक्षणकै लागि क्यानाडाले प्रतिशोधात्मक शुल्क लगाउनुपरेको बताएका छन्। गत अगस्ट २१ मा वासिङ्टनमा भएको वार्ता विफल भएपछि दुई देशबीच हालसम्म व्यापार वार्ता पुनः सुरु हुन सकेको छैन।

अमेरिकासँग क्यानाडाको आर्थिक निर्भरता उच्च रहेको छ। क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाटै हुने गरेको छ भने झन्डै ७० प्रतिशत निर्यात पनि अमेरिकी बजारमै जाने गर्छ। अमेरिकी शुल्कको असर न्यूनीकरण गर्न क्यानाडा सरकारले व्यवसायी र कामदारका लागि सात अर्ब ५० करोड क्यानाडाली डलर बराबरको सहायता प्याकेज सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *