इतुम्बहालबाट चोरिएका सम्पदाहरू २४ वर्षपछि बहालमै फिर्ता

काठमाडौं, ४ चैत । काठमाडौं महानगरपालिका २४ वडास्थित इतुम्बहालबाट चोरी भएका काष्ठ सम्पदाहरू सोही विहारलाई फिर्ता भएको छ । बहालबाट चोरी भएका शारदुल र शालभन्जिका कुँदिएका कलात्मक काष्ठ सामग्रीहरू विहीवार बहाललाई नै फिर्ता गरिएको हो ।
आजभन्दा २४ वर्ष अघि बहालबाट चोरी भएका ती काष्ठ सामग्रीहरू पछि अमेरिकाको रुबिन आर्ट अफ म्युजियम र मेट्रोपोलिटन म्युजियममा भेटिएको
थियो ।
त्यसपछि नेपालका तर्फबाट ती ऐतिहासिक सामग्रीहरू फिर्ता ल्याउने पहल भएको थियो । यसको लागि नेपाल हेरिटेज रिकभरी क्याम्पेनले विशेष भूमिका निर्वाह गरेको हो ।
अमेरिकाबाट फिर्ता ल्याइएका ती सामग्रीहरू काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका थिए । विहीवार संग्रहालयका प्रमुख जयराम श्रेष्ठले इतुम्बहालको श्री केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य लगायतका पदाधिकारीहरूलाई ती सामग्रीहरू हस्तान्तरण गरियो ।
सो अवसरमा आफ्नो मन्तव्य राख्नुहुँदै संग्रहालय प्रमुख श्रेष्ठ, विहारका अध्यक्ष शाक्य र अभियन्ता कनकमणि दीक्षितले कुनै पनि सम्पदाप्रति स्थानीय जनताको अपनत्व र लगाव कायम रहनुपर्ने विषयमा जोड दिनुभएको थियो ।
सम्पदा फिर्ता पाएकोमा विहार परिवारले खुशी व्यक्त गरेको छ ।