चिसो घट्न थालेपछि मुस्ताङमा पर्यटक बढ्दै

मुस्ताङ, ५ चैत्र । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको हाे ।

ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङका अनुसार चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन् । उनले भने, “फागुनको २३, २४ गतेतिर हिमपात भएपछि पर्यटक हिउँमा रमाउनका लागि पनि आउने गरेका छन् ।” मुस्ताङको यात्रा तय गरेका पर्यटक कतिपय मुक्तिनाथसम्म पुग्ने गर्दछन् भने कतिपय नेपाल र चिनबीचको कोरला नाकासम्म पुगेर फर्कन्छन् ।

भौगालिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक पर्यटनसँगै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य हो । यहाँको भौगोलिक विविधताले जो–कोहीलाई लोभ्याउने गरेको छ । पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ ।

आजभन्दा चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।

पछिल्ला समयमा मुस्ताङका ठिनी, स्याङलगायतका गाउँमा स्थानीयले घरबास पनि सञ्चालनमा ल्याएका छन् । उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताए । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ ।

करिब छ सय जनाको बसोबास रहेको लोमन्थाङ झन्डै दुई महिना भने सुनसान भएको बताउँदै उनले चिसोका कारण अधिकांश व्यक्ति तलतिर झरेको बताए ।

उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको झोङका स्थानीय मिककुमार गुरुङले जानकारी दिए । झोङमा रहेको ऐतिहासिक गुफाले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको बताउँदै उनले पाँच तला र एक सय आठ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण गन्तव्य रहेको बताए ।

चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थी आउने क्रम बढिरहेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । स्वदेशी दर्शनार्थीसँगै भारतीय दर्शनार्थी पनि मुक्तिनाथ आउने गरेका छन् ।