पत्नीले गरेका सम्बन्ध विच्छेदहरू खारेज

काठमाडौं, ५ चैत । अफगानिस्तानमा तालिबान सरकारले पुरुषको इच्छा बेगर सम्बन्ध विच्छेद गरी छुट्टिएर गइसकेका महिलाहरूलाई अब समातेर भए पनि पुनः पुरानै श्रीमानसँग बस्नुपर्ने बाध्यकारी नियम बनाएको छ ।
तालिबान सरकारले अब त्यस्तो सम्बन्ध बिच्छेदको फैसलालाई खारेज गर्दै छुट्टिएर गइसकेका श्रीमतीहरूलाई खोजी खोजी भए पनि पुरानै श्रीमान्को घरमा पुर्याउने अभियान पनि शुरु गरेको छ ।
यसले गर्दा श्रीमानले दिने चरम शारीरिक एवं मानसिक यातना सहन नसकेर सम्बन्ध विच्छेद गरी एक्लै बस्न थालिसकेका महिलाहरू पुनः नर्कमय जीवनमा फर्कन बाध्य भएका छन् ।
हालै मात्र यसरी नै पुरानो नर्कमय जीवनमा फर्कन बाध्य भएकी एक अफगानी महिला मार्वा (नाम परिवर्तन) पनि हुन् । नयाँ अफगान सरकारले उनले आफ्नो श्रीमानसँग गरेको सम्बन्ध विच्छेदलाई खारेज गरी उनलाई पुरानै श्रीमानको घरमा फर्कन आदेश दिइसकेको छ ।
अफगानिस्तानमा तालिबान सरकार आउनु अघि अदालतमा मुद्दा लडेर मार्वा आफ्ना श्रीमान्सँग छुट्टिएका थिए । त्यसपछि उनी आफ्ना छ जना साना साना छोरीहरू र दुई छोरालाई लिएर सयौं किलोमिटर टाढा अलग्गै बसिरहेकी थिइन् ।
आफ्ना श्रीमानबाट अत्यन्तै यातना भएपछि उनी कानुनी मुद्दा लडेर छुट्टिएकी थिइन् । श्रीमानले उनलाई कोठा बन्द गरी कुटपिट गर्थे । श्रीमानको कुटाइबाट उनका सबैजसो दाँत झरिसकेका छन् भने हातका दुइटा औंला पनि भाँचिइसकेका छन् ।
श्रीमानबाट छुट्टिएर आइसकेपछि उनका छोरीहरूले उनलाई भनेका थिए, ‘आमा, हामीले यहाँ राम्ररी खान नपाए पनि केही छैन । कमसेकम यातना भोग्नबाट त बच्यौँ ।’
अफगानिस्तानमा पतिले सम्बन्ध विच्छेद गर्नु सामान्य जस्तै भए पनि पत्नीले सम्बन्ध बिच्छेदको माग गर्नु भने अत्यन्तै दुर्लभ छ ।
अमेरिका समर्थित पूर्व सरकारका पालामा केही महिलाहरूले त्यस्तो दुर्लभ सम्बन्ध बिच्छेद गरेका थिए भने त्यसपछि यो क्रम केही बढ्न थालेको थियो ।
त्यसरी सम्बन्ध विच्छेद गर्न चाहने महिलाका लागि मुद्दा लडिदिने अधिवक्ता नाजिफाका अनुसार श्रीमान्बाट अत्यन्त यातना पाएपछि महिलाहरूले त्यसरी सम्बन्ध विच्छेद गरेका हुन् तथापि सम्बन्ध विच्छेद पछिको उनीहरूको जीवन पनि सरल भने छैन ।
अफगानिस्तानमा पति यदि लागू औषधीका दुव्र्यसनी हुन् वा मुलुक छोडेर गएका छन् भने मात्रै पत्नीले सम्बद्ध विच्छेद गर्न पाइन्छ । घरेलु हिंसाका आधारमा पत्नीले सम्बद्ध विच्छेदको माग गरे पनि यदि पतिले छोड्न चाहेन भने पत्नीले छुट्टिन पाइँदैन ।
छुट्टिएका महिलाहरूको सम्बन्ध विच्छेदलाई पनि तालिबान सरकार आएपछि खारेज गरिदिएको छ ।
त्यति मात्रै होइन, पीडित महिलालाई सम्बद्ध विच्छेदको लागि मुद्दा लडिदिने अधिवक्ता नाजिफाको कामलाई पनि प्रतिबन्ध लगाइदिएको छ । अहिले विस्थापित महिलाहरूलाई शेल्टर उपलब्ध गराउने सम्पूर्ण सेवाहरू बन्द गरिएको छ भने महिला मामिला सम्बन्धी मन्त्रालय र मानव अधिकार आयोग पनि खारेज गरेको छ ।
मार्वा जस्तै पतिबाट पीडित भई आफैले सम्बन्ध विच्छेद गरेका अर्की महिला हुन् साना । उनको विवाह आफूभन्दा १० वर्ष कान्छा केटासँग भएको थियो जो उनको आफ्नै काकाका छोरा हुन् ।
पतिले उनलाई खानामा नुन पुगेन वा बच्चा रोए भनेर पनि कुटपिट गर्ने गर्थे । उनका पति भन्ने गर्थे, ‘पतिले जे गरे पनि आइमाईलाई बोल्ने अधिकार हुँदैन ।’
उनले पनि निःशुल्क कानुनी सेवा प्राप्त गरी पतिसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।
तर तालिबान सरकारको नयाँ कानून आएपछि उनको पनि सम्बन्ध विच्छेद खारेज भयो । तालिबान प्रहरीले उनलाई घरैमा लिन आएका थिए । उनी बाध्य भएर छोरीहरूका साथ पूर्व पतिको घरमा गइन् । तर पतिले अर्की श्रीमती ल्याइसकेको रहेछ ।
पतिले उनका छोरीहरूको बिहे तालिवानका सदस्यहरूसँगै गराइदिने कुरा चलाउन थालेपछि उनी त्यहाँबाट पनि भागिन् ।
अहिले उनी शहरबाट टाढा एक घरमा लुकेर बसिरहेकी छिन् । कहिलेकाहीं उनलाई छोरीले भन्न गर्छिन् रे, ‘आमा ! हामी कति भागि हिँड्ने ? जाऔँ, आत्महत्या गरौँ ।’
यसबाट थाहा हुन्छ, तालिबान सरकार आएपछि अफगानी महिलाहरूको जीवन कति नारकीय बन्न पुगेको छ ।
(एजेन्सीको सहयोगबाट)