बुधबारदेखि मौसममा सुधार आउने

काठमाडौं, ७ चैत । मौसम बुधबारदेखि क्रमिकरूपमा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएका छन्। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

वर्षाबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ भने वर्षासँगै चिसो पनि महसुस पनि भइरहेको छ । अहिले प्रिमनसुन सिजनको समय छ । यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जन/चट्याङसहित पानी परेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनले भनिन् बुधबारदेखि मौसम सफा हुन्छ ‘पानी पर्दै नपर्ने होइन, तर हिजो र आजको तुलनामा कम पानी पर्छ’। प्रिमनसुन अघिको समयमा हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । उच्च हिमाली भेगमा हिउँसमेत पर्ने गर्दछ ।

केही दिनयता पश्चिमदेखि पूर्वी नेपालसम्मै पानी परिरहेको र उच्च हिमाली भेगमा हिउँ परिरहेको कारण यही हो । त्यसैले यो समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे पनि पर्याप्त जानकारी लिन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।