आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं, २७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान कोशी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार पछिल्लो एक घण्टामा मोरङको सकफारामा १२.८ मिलिमिटर र सुनसरीको धरान बजारमा १२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी दिउँसो देशका पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहितको मध्यम वर्षा हुनेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हुने प्रक्षेपण गरिएको छ। कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना छ। राति नै तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनेछ भने कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *