धादिङकाे परेवाटार–मास्टार सडकमा आजदेखि तोकिएको समयमा एकतर्फी सवारी सञ्चालन

धादिङ, २७ भदौ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेंसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ।

सडक साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन हुँदा आवागमन व्यवस्थापनमा कठिनाइ भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर यो व्यवस्था गरेको हो।

प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ आउने सवारीसाधन सञ्चालन हुनेछन्। धादिङबेंसीतर्फ आउने सवारीसाधनले दिउँसो १२ बजेभित्रै मास्टारको पुल पार गरिसक्नुपर्नेछ।

यसैगरी दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ जाने सवारीसाधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ ७ बजेभित्रै परेवाटार पार गरिसक्नुपर्नेछ।

तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेका बेला धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ भने निर्बाध आवतजावत गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *