अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
एजेन्सी, १२ चैत्र । अमेरिकाको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन् भने सयौं जनाघाइते भएका छन् ।
अमेरिकी सरकारले आँधी क्षेत्रमा खोज तथा उद्धार प्रयास गरिरहेकाे छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।
आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ । यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् ।
पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस । वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ । वोटविरुवा सोत्तर भएका छन् ।
घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन् । रुख जरैदेखि उखेलिएका छन् । मोटरकार उत्तानो परेका छन् । घरका पर्खाल र छाना देखिदैनन् । भग्नावशेषको उरुङबाहेक केही देखिँदैन । आँधीका कारण विद्युत् आपूर्ति नहुँदा शनिबार सबैतिर अन्धकार भएकाे छ । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले सबैतिर विनाशै विनाश, क्षत्बिक्षत बनाएका छन् ।
निरपेक्ष गरिबीको रेखामुनि रहेका यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारलाई आदेश दिएका छन् । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलव्ध गराउन बाइडेनले आदेश दिएका हुन् ।
