वसन्ती छठ पर्वको निराहार व्रत आज
जनकपुर, १३ चैत्र । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ ।
चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शनिबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।
‘खरना’ का दिन दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन बर्तालुले व्रत सङ्कल्प गर्छन् ।
षष्टि तिथिका दिन निराहार व्रत बसेर साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ ।
कम्मरसम्म पानीमा चोवलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई बर्तालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । अब भोलि सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै उदाउँदा सूर्यलाई अघ्र्य (भोरका अरख) दिएपछि यो पर्व समापन हुन्छ ।
छठ पर्वमा ठकुवा, भुसुवा (कसार¬) सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ ।