बुद्धको राजधानी कपिलवस्तु पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै

काठमाडौं, १९ चैत । नेपाली पक्षले गरिरहेको प्रयासमा यदि कसैले अवरोध गरेन र युनेस्को पनि सहमत भयो भने आउँदो दुई वर्ष भित्रै नेपालको एउटा अर्को सम्पदा पनि विश्वसम्पदा सूचीमा सूचीकृत हुने सम्भावना बढेर गएको छ ।

गौतम बुद्धले आफ्नो बाल्यकाल र युवाकालको २९ वर्ष समय व्यतित गर्नुभएको कपिलवस्तु दरवार क्षेत्रलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपालले पहल शुरु गरेको छ । गएको तीन वर्ष अघि एउटा समिति नै बनाएर नेपालले यसको लागि पहल आरम्भ गरेको थियो । आउँदो वर्ष सन् २०२४ को फेब्रुअरी महिनामा राष्ट्र संघीय निकाय युनेस्कोको बैठकमा पेश गर्ने गरी नेपालले यसको प्रतिवेदन तयार गरिरहेको छ जो अहिले अन्तिम चरणमा पुगिसकेको छ ।

यो प्रतिवेदन तयार गर्न तीन वर्ष अघिदेखि थालिएको कार्यलाई हालै अन्तिम रुप दिइएको हो । युनेस्को बैठकको मन जित्ने गरी प्रतिवेदन तयार गर्न नेपालले अष्ट्रेलियाका विख्यात पुरातत्वविद् डंकन मिसेललाई जिम्मा दिएको छ ।

यसमा बेलायत, भारत, पाकिस्तान, जापान र नेपालका पुरातत्वविद्हरू पनि समावेश छन् । यो समितिले तयार गरेको प्रतिवेदन आउँदो सन् २०२४ को फेब्रुअरीमा बस्ने युनेस्कोको बैठकमा पेश गरिनेछ । त्यसपछि युनेस्कोका प्रतिनिधिहरू नेपाल आएर सम्पदास्थलको अवलोकन गर्नेछ । अवलोकन पश्चात उनीहरूले बुझाएको प्रतिवेदनका आधारमा कपिलवस्तु विश्व सम्पदा सूचीमा रहने वा नरहने भन्ने निर्णय हुनेछ ।

नेपाली पक्ष भने युनेस्कोले कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कुरामा ढुक्क भएको बुझिएको छ । आजभन्दा २० वर्ष अघि नै कपिवलस्तुलाई ‘सम्भावित विश्व सम्पदा’ सूचीमा सूचीकृत गरिसकेको कारणले यस वर्ष विश्व सम्पदा घोषित गर्ने आशा नेपाली पक्षले लिएको छ ।

भारतको रिजर्भेसनः

नेपालको तिलौराकोटमा अहिले जुन दरवारका अवशेषहरू भेटिएको हो, त्यो नै कपिलवस्तु दरवार हो भन्ने नेपाली पक्षको दावी छ । यसलाई बेलायत, अष्ट्रेलियाका विज्ञहरूले पनि स्वीकारिसकेको छ ।

तर भारतीय विज्ञहरुले भने उक्त दरवारको अवशेष नै सिद्धार्थ गौतमका बुबा शुद्धोधनको कपिलवस्तु दरवार हो भन्ने कुरालाई अझै स्वीकार गरेको छैन । बौद्ध वाङ्मयमा लुम्बिनीको पछाडि नै कपिलवस्तु दरवार रहेको विवरण उल्लेख छ । तर पुरातात्विक रुपले यसको अझै पुष्टि भएको छैन भन्ने भारतको दावी रहेको छ ।

भारतीय विज्ञहरूले तिलौराकोट क्षेत्रमा अहिलेसम्म भेटिएका पुरातात्विक सामग्री र संरचना हेर्दा यो प्राचीनकालीन ठूलो नगर क्षेत्र रहेको र दरवार पनि रहेको भन्ने कुरालाई स्वीकार गरिसकेको छ । तर उक्त भग्नावशेषलाई नै ‘सिद्धार्थ गौतमको कपिलवस्तु दरवार’ भनेर सीधा उल्लेख नगरिकन ‘कपिलवस्तु दरवार पनि हुन सक्ने’ भन्ने पदावली राखेर प्रतिवेदन लेख्नु उचित हुने सुझाव भारतीय विज्ञहरूले दिएका छन् ।

तर नेपाली विज्ञहरूले भने तिलौराकोटमा अहिलेसम्म भएका उत्खनन्बाट प्राप्त पुरातात्विक सामग्रीहरू नै कपिलवस्तु दरवारलाई प्रमाणित गर्ने आधार रहेको दावी गरेका छन् ।

लुम्बिनी विकास कोषसँग आवद्ध एक विज्ञले भन्नुभएको छ, ‘बुद्ध जीवनीसँग सम्बन्धित कुशीनगर, बुद्धगयामा पनि बौद्ध वाङमयसँग मेल खाने केही सामग्रीहरू भेटिएकै आधारमा निष्कर्ष निकालिएको हो ।’

सो भग्नावशेष वरपर हालै मात्र चैत्यमा राखिने गजुरको अवशेष भेटिएकोले उक्त ठाउँ बौद्ध स्मारकसँग सम्बन्धित रहेको भन्ने पुष्टि भएको पनि उहाँ विज्ञले दावी गर्नुभएको छ ।

त्यसैले अहिले प्रतिवेदन तयार गर्दा नेपालको दावी प्रस्ट हुने र भारतबाट पनि अवरोध नहुने शैलीको व्यहोरा लेख्नुपर्ने अवस्था छ ।

स्मरणीय छ, भारतले नेपालको तिलौराकोट होइन कि भारतकै पिपरहवालाई बुद्धको कपिलवस्तु दरवार भनी दावी गर्दै आइरहेको छ ।

तिलौराकोटः एक भव्य महानगर

तिलौराकोट क्षेत्रमा नेपालको पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दूरहाम विश्वविद्यालयले गरिरहेको पुरातात्विक उत्खननबाट अहिलेसम्म जे जति सामग्री र संरचना भेटिएको हो, त्यसको आधारमा भन्नु पर्दा यो क्षेत्र बुद्ध जन्मिनुभन्दा पनि अघिको एक विशाल महानगर रहेको पुष्टि भइसकेको छ ।

यो नगर बुद्ध जन्मिनुभन्दा करिब ८०० वर्ष अघि नै स्थापित भइसकेको इतिहास पाइन्छ ।

त्यहाँ भेटिएको ठूलठूला पर्खाल, इनार, ढुंगेधारा, औद्योगिक क्षेत्र, नहर आदिको भग्नावशेषहरू हेर्ने हो भने यो त्यतिबेलाको ठूलो र अत्यन्त व्यवस्थित नगर थियो भनेर सजिलै अनुमान लगाउन सकिने विज्ञहरूको ठहर छ ।

सो पुरातात्विक उत्खननमा संलग्न एक विदेशी विज्ञका अनुसार यो जतिको भव्य र व्यवस्थित प्राचीन नगर संरचना अहिलेसम्म दक्षिण एशिया क्षेत्रमै कहीं भेटिएको छैन ।

विज्ञहरूका अनुसार यो विशाल नगर क्षेत्र नै सिद्धार्थ गौतम हुर्केको कपिलवस्तु दरवार क्षेत्र हो भन्ने कुरामा युनेस्को सहमत भयो भने सन् २०२५ सम्ममा यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरिने निश्चित देखिन्छ । यसले सम्पदा क्षेत्रमा नेपालको गरिमालाई अझ उँचो बनाइदिने आशा विज्ञहरूले लिएका छन् ।

हाल नेपालका सांस्कृतिक र प्राकृतिक गरी दश वटा सम्पदास्थलहरू विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ । यसमा गौतम बुद्ध जन्मस्थल लुम्बिनी पनि समावेश छ ।