अमेरिकामा आएकाे आँधीले छब्बीस जनाको मृत्यु, जनजीवन प्रभावित
एजेन्सी, १९ चैत्र । संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ ।
शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले विद्यालय र गिर्जाघर ढलेका छन् भने घरका छाना उडेका, सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन्भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त बनेकाे छ ।
अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् ।
ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् । शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए ।
अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ । राष्ट्रिय मौसम सेवाले भारी मेघगर्जन र हुरीका साथ असिनापानी पर्ने पूर्वानुमान गरेको छ । पेन्सिल्भेनिया र न्युयोर्कका केही भागसहित पूर्वोत्तर क्षेत्रमा आँधी र असिनाको जोखिम रहेको भन्दै उक्त स्थानमा सचेत रहन आग्रह गरेको छ ।