आरआरमा तालाबन्दी तोडेर स्ववियु निर्वाचन गर्ने अनेरास्ववियुको दृढता (भिडियो रिपोर्ट)
काठमाडौं, २२ चैत । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा गत चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोकिएको थियो । उक्त मितिमा धेरै क्याम्पसमा निर्वाचन भए पनि केही क्याम्पसमा भने निर्वाचन हुन सकेन ।
उपत्यकाका त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस, रत्नराज्य क्याम्पस, विश्वभाषा, नेपाल कमर्स क्याम्पस, आयुर्वेद क्याम्पस, कीर्तिपुर पाटन संयुक्त क्याम्पसमा निर्वाचन हुन सकेन ।नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ, नेकपा समाजवादी निकटको अनेरास्ववियू, माओवादी निकटको अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले विभिन्न बाहनामा मुख्य गरेर विगतमा नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुले वर्चश्व जमाउँदै आएका उपत्यकाका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन गराउन नदिएपछि अनेरास्ववियु अदालतको ढोका ढक्ढक्याउन पुग्यो ।
स्ववियु निर्वाचन नगराएको भन्दै आरआर क्याम्पस अनेरास्ववियुका सभापतिका उम्मेदवार मदन भण्डारी, नेपाल कमर्श क्याम्पस अनेरास्ववियुका सचिव उम्मेदवार दिवस सापकोटा र पाटन संयुक्त क्याम्पस अनेरास्ववियुका सभापतिका उम्मेदवार सुरेश जिसीले उच्च अदालत पाटनमा छुट्टाछुट्टै रिट निवेदन दर्ता अदालतको आदेशपछि अहिले रोकिएका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन गराउनै पर्ने बाध्यता भएको छ ।
२०७३ मा उपत्यकाका नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो । ती मध्ये आरआर क्याम्पसमा पनि निर्वाचन भएको थियो । त्यसपछि यो क्याम्पसमा पनि निर्वाचन हुन सकेको छैन । यहि चैत २६ गते निर्वाचन गर्नेगरी आज उम्मेदवारी दर्ता गर्ने तालिका थियो ।
तर, आज पनि अनेरास्ववियु बाहेकका केही संगठनले तालबन्दी गरेर निर्वाचन छल्ने प्रयास गरेपछि अनेरास्ववियुले त्यसको विरोध गरेको छ । निर्धारित मितिमा जसरी पनि निर्वाचन गर्ने अनेरास्ववियुले अडान लिएको छ ।
आरआर परिसरमै रहनु भएका अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले रोकिएका क्याम्पसहरुमा जसरी पनि निर्वाचन गर्ने दाबी गर्नुभयो ।
महासचिव नरेश रोकायले पनि आफूहरु हातमा दही जमाएर नबस्ने बन्दै तालाबन्दी तोडेर भए पनि निर्वाचन गराई छाड्ने चेतावनी दिनुभयो ।
अनेरास्ववियु आरआरका अध्यक्ष लोकेशकुमार खड्का पनि निर्वाचन कुनै हालतमा नरोकिने चेतानवनी दिनुहुनछ ।